१३ वर्षपछि बैंकिङ कसूरका फरार प्रतिवादी सविता कार्की पक्राउ, साढे ८ करोड जरिवाना

काठमाडौं । बैंकिङ कसूर मुद्दामा विगत १३ वर्षदेखि फरार रहेकी एक प्रतिवादीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका वडा नं. ६ बस्ने चारित्रिक विल्डर्स प्रालिकी सञ्चालक सविता कार्की रहेकी छिन् ।  

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को विशेष टोलीले उनलाई गोकर्णेश्वर नगरपालिका वडा नं. ४ बाट पक्राउ गरेको हो । बनावटी कागजात खडा गरी करोडौँको कर्जा दुरुपयोगनेपाल राष्ट्र बैंकको जाहेरीका अनुसार कार्कीले चारित्रिक विल्डर्स प्रालिको नाममा कम्पनी दर्ता गरी बनावटी कागजातहरू तयार पारेकी थिइन् ।

उनले हाउजिङ तथा निर्माण कार्य गर्ने भन्दै कृत्रिम व्यवसाय र परियोजना खडा गरेकी थिइन् ।  त्यसपछि तत्कालीन क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्स लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारेर उनले कर्जा निकासा गराएकी थिइन् । 

तर, उक्त कर्जा रकम सम्बन्धित परियोजनामा लगानी नगरी व्यक्तिगत रूपमा दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको थियो ।  

उक्त बैंकिङ कसूर मुद्दामा साविक पुनरावेदन अदालत पाटनको मिति २०७१ वैशाख २९ गतेको फैसलाले कार्कीलाई ३ वर्ष कैद र ८ करोड ५० लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।  अदालतको फैसलापछि सजाय भुक्तान नगरी उनी फरार रहँदै आएकी थिइन् । पक्राउ परेकी कार्कीलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।   

Share News