काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार दिउँसो २ बजेदेखि सुरु हुने भनिएको बन्दसत्र करिब डेढ घण्टा ढिलो गरी सञ्चालनमा आएको हो ।
महाधिवेशनस्थलमा प्रतिनिधि सम्बन्धी विवाद र दाबी–विरोध प्रक्रियाका कारण बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको थिएन । विवाद समाधानका लागि नेताहरूबीच छलफल लम्बिएपछि कार्यक्रम प्रभावित भएको थियो ।
पार्टी सभापति रवि लामिछाने बन्दसत्र हलमा पुगेपछि औपचारिक रूपमा बन्दसत्र सुरु गरिएको हो । बन्दसत्र सुरु हुँदासम्म प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन शाह भने सभाहलमा नपुगेको जनाइएको छ ।
रास्वपाको प्रथम महाधिवेशनमा नेतृत्व चयन, संगठनात्मक प्रस्ताव तथा भावी राजनीतिक कार्यदिशाबारे छलफल हुने कार्यसूची रहेको छ । प्रतिनिधि व्यवस्थापन र कार्यतालिका कार्यान्वयनलाई लिएर महाधिवेशनको व्यवस्थापनमाथि भने प्रश्न उठ्न थालेका छन् ।