काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीभित्र एकता कायम रहेसम्म रास्वपालाई कमजोर बनाउने शक्ति कसैसँग नरहेको बताएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै लामिछानेले पार्टीलाई विभाजित गर्ने र कमजोर बनाउने प्रयास भए पनि त्यसलाई सफल हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
'हामी आफैँ लड्यौं भने मात्रै रास्वपा लड्छ । तर, हामीलाई लडाउने शक्ति यो युगमा जन्मिँदैन', उनले भने ।
उनले पार्टीभित्र फाटो ल्याउने प्रयास हुने स्वीकार गर्दै पनि जनतासँग गरेका प्रतिबद्धता अक्षरशः कार्यान्वयन गर्ने बताए।
'लडाउने, ढाल्ने र फाटो ल्याउने प्रयास धेरै हुनेछन् । तर, नेपाली जनतालाई साक्षी राखेर रास्वपाले गरेका एक-एक प्रतिबद्धता पूरा हुनेछन्', उनले भने ।
'हामीले पार्टीका वरिष्ठ नेता बालेन शाहको खुट्टामा बल राखिसकेका छौं। झुकेर त्यो बल कतै मेरोतिर आयो भने फेरि त्यही खुट्टामा पास दिने जिम्मेवारी मेरो हुन्छ', उनले भने ।
उनले वर्तमान पुस्ताले प्राप्त राजनीतिक अवसरको सही उपयोग गर्नुपर्नेमा जोड दिँदै भविष्यका पुस्ताप्रति पनि जिम्मेवार हुनुपर्ने बताए ।
'आज जन्मिएकाहरूले मात्रै होइन, भोलि जन्मिने पुस्ताले पनि मलाई र बालेनजीलाई सोध्नेछन्- 'तिमीहरूले यो अवसर किन गुमायौ ? त्यसैले यो अवसरलाई परिणाममा बदल्नुपर्छ', उनले भने ।
लामिछानेले रास्वपा विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको साझा प्रयासबाट बनेको पार्टी भएको उल्लेख गर्दै व्यक्तिगत पदभन्दा संगठनलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
'मलाई व्यक्तिगत रूपमा केही पनि चाहिएको छैन । संस्थापक सभापतिको हैसियतले मेरो अपेक्षा यति मात्रै हो- पदका लागि अस्वस्थ राजनीति र षड्यन्त्र नगरियोस्', उनले भने ।
महाधिवेशनबाट जो निर्वाचित भए पनि पार्टी नै विजयी हुने उनको भनाइ थियो । 'जसले जिते पनि घण्टी बोक्नेले जित्छ। जसले जिते पनि रास्वपाले जित्छ', उनले भने ।