काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष तथा वरिष्ठ नेताहरू भरतपुर जाने भएका छन् ।
महाधिवेशन उद्घाटन सत्रमा विभिन्न दलका नेताहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम तय भएपछि यसलाई रास्वपाको आन्तरिक कार्यक्रम मात्र नभई राष्ट्रिय राजनीतिक महत्त्वको जमघटका रूपमा पनि हेरिएको छ ।
रास्वपाले आफ्नो पहिलो महाधिवेशनमार्फत संगठनात्मक संरचना निर्माण, नयाँ नेतृत्व चयन तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने तयारी गरिरहेका बेला प्रमुख दलहरूको सहभागिताले महाधिवेशनले थप महत्त्व पाएको छ ।
मुख्य विपक्षी दल नेपाली कांग्रेसका तर्फबाट पार्टी सभापति गगनकुमार थापा महाधिवेशनमा सहभागी हुने भएका छन् ।
कांग्रेसका सहमहामन्त्री प्रकाश स्नेहीका अनुसार रास्वपाले पठाएको औपचारिक निमन्त्रणाअनुसार सभापति थापाले उद्घाटन सत्रमा उपस्थित भई शुभकामना मन्तव्य दिने कार्यक्रम छ ।
कांग्रेसले रास्वपाको महाधिवेशनलाई लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण प्रक्रियाका रूपमा लिँदै आफ्नो प्रतिनिधित्व उच्च तहबाट गराउन लागेको जनाएको छ ।
त्यसैगरी, संसदको तेस्रो ठूलो दल नेकपा एमालेका तर्फबाट पार्टीका वरिष्ठ नेता तथा पूर्व उपमहासचिव प्रदीप ज्ञवाली महाधिवेशनमा सहभागी हुने भएका छन् ।
एमालेले ज्ञवालीलाई पार्टीको आधिकारिक प्रतिनिधिका रूपमा भरतपुर पठाउने निर्णय गरेको हो ।परराष्ट्रमन्त्रीसमेत भइसकेका ज्ञवालीलाई पार्टीका अनुभवी र वैचारिक नेताका रूपमा चिनिन्छ ।
यसअघि एमालेको एघारौं महाधिवेशनमा रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीले खुला सत्रलाई सम्बाेधन गरेका थिए ।
संसदको चौथो ठूलो दल नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पूर्व उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले महाधिवेशनमा पार्टीको प्रतिनिधित्व गर्ने भएका छन् । माओवादी केन्द्रले पनि रास्वपाको प्रथम महाधिवेशनलाई शुभकामना दिँदै उद्घाटन सत्रमा आफ्नो सहभागिता सुनिश्चित गरेको हो ।
त्यस्तै, राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङ्देन जाने कार्यक्रम रहेको रहेको छ ।
यस्तै, संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरूबाट समेत प्रतिनिधिहरू महाधिवेशनमा सहभागी हुने तयारी भइरहेको रास्वपाले जनाएको छ ।
विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थितिले उद्घाटन सत्रलाई विशेष बनाउने अपेक्षा गरिएको कोषाध्यक्ष लिमा अधिकारीले जानकारी दिइन् ।
चितवनको भरतपुरमा सुरु हुन लागेको तीनदिने महाधिवेशनमा देशभरबाट चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको विधान, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन तथा आगामी कार्यदिशामाथि व्यापक छलफल गर्ने कार्यक्रम रहेको छ ।