काठमाडौं । नेकपा एमालेले आम निर्वाचनमा बेहोरेको अप्रत्याशित पराजयपछि पार्टीभित्र सुरु भएको आत्मसमीक्षाको बहस अब नेतृत्व पुनर्गठनको मागसम्म पुगेको छ ।
लुम्बिनी प्रदेशको कपिलवस्तुमा बिहीबार सम्पन्न प्रदेशस्तरीय समीक्षा कार्यक्रममा सहभागी अधिकांश नेता–कार्यकर्ताले पार्टीलाई वर्तमान संकटबाट बाहिर निकाल्न नेतृत्व परिवर्तनसहित व्यापक पुनर्गठन आवश्यक रहेको निष्कर्ष सुनाएका हुन् ।
पार्टीले निर्वाचन परिणामको समीक्षा तथा पुनर्गठनसम्बन्धी सुझाव संकलनका लागि आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अध्यक्ष, पदाधिकारी, प्रदेश कमिटीका नेताहरू तथा केन्द्रीय सदस्यहरू सहभागी थिए ।
कार्यक्रममा उठेका धारणाको आधारमा एमालेभित्र नेतृत्व र कार्यशैलीबारे लामो समयदेखि दबिएको असन्तुष्टि सार्वजनिक रूपमा अभिव्यक्त हुन थालेको देखिएको एक नेताले जानकारी दिए । भेलामा सहभागी एक जिल्ला अध्यक्षका अनुसार बैठकको मुख्य विषय निर्वाचन हारको समीक्षा भए पनि छलफल क्रमशः नेतृत्वको भूमिकातर्फ केन्द्रित भएको थियो ।
प्रदेश र जिल्ला कमिटीका अधिकांश नेताहरूले अहिलेको संकट केवल निर्वाचनको हार मात्र नभई पार्टी सञ्चालन पद्धतिसँग जोडिएको समस्या भएको धारणा राखेको ती जिल्ला अध्यक्षले बताए । उनले भने, ‘पुनर्गठन नगरी अब एमालेले जनताको विश्वास फर्काउन सक्दैन भन्ने धारणा बलियो रूपमा आएको छ ।’
एमालेले लुम्बिनी प्रदेशमा सञ्चालन गरेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रममा नेतृत्व परिवर्तन र संगठनात्मक पुनर्संरचनाको माग प्रमुख रूपमा उठेको छ । आम निर्वाचनमा पार्टीले अपेक्षाअनुसार परिणाम हासिल गर्न नसकेको निष्कर्ष निकाल्दै अधिकांश प्रदेश तथा जिल्ला तहका नेताहरूले नेतृत्वमा नयाँपन र संगठनमा व्यापक सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा प्रदेश कमिटीका कुल १०९ सदस्यमध्ये ७४ जना उपस्थित भएका थिए । उपस्थित सदस्यमध्ये ६८ जनाले आफ्नो धारणा राखेका थिए । विचार व्यक्त गर्नेमध्ये ५७ जना नेताहरूले पार्टी नेतृत्वमा परिवर्तन आवश्यक रहेको विषयलाई स्पष्ट रूपमा उठाएका थिए । उनीहरूले पार्टीलाई पुनः जनतामाझ स्थापित गर्न नेतृत्व शैली, कार्यपद्धति र संगठन संरचनामा व्यापक सुधार आवश्यक रहेको उल्लेख गरेका थिए ।
यस्तै, पाँच जना नेताले वर्तमान नेतृत्वलाई निरन्तरता दिनुपर्ने धारणा राखेका थिए । उनीहरूको तर्क थियो– निर्वाचनमा आएको प्रतिकूल परिणामको सम्पूर्ण जिम्मेवारी नेतृत्वमाथि मात्रै थोपर्न हुँदैन । उनीहरू पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा दृढ देखिन्थे । बाँकी छ जना नेताले नेतृत्व र संगठन दुवै पक्षमा सुधार आवश्यक भए पनि परिवर्तनको प्रक्रियालाई सहमतिका आधारमा अघि बढाउनुपर्ने मध्यमार्गी धारणा प्रस्तुत गरेका थिए ।
जिल्ला तहबाट पनि पुनर्गठनको पक्षमा बलियो आवाज उठेको छ । कार्यक्रममा सहभागी १२ जिल्ला कमिटी अध्यक्षमध्ये ९ जनाले पार्टीभित्र व्यापक पुनर्गठन आवश्यक रहेको बताएका थिए । उनीहरूले संगठनलाई चलायमान, कार्यकर्ता केन्द्रित र जनमुखी बनाउन संरचनागत सुधारसँगै नेतृत्व तहमा समेत पुनर्विचार गर्नुपर्ने धारणा राखेका थिए ।
बाँकी तीन जिल्ला अध्यक्षले भने नेतृत्व परिवर्तनभन्दा पनि संगठन सुदृढीकरण, कार्यशैली सुधार र आन्तरिक एकतालाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । उनीहरूले पार्टीभित्र देखिएका चुनौतीहरूको समाधान सहमति, संवाद र क्रमिक सुधारमार्फत खोज्नुपर्नेमा जोड दिएका थिए ।
छलफलका क्रममा सहभागी नेताहरूले एमाले क्रमशः नीतिप्रधान राजनीतिक संगठनभन्दा व्यक्तिकेन्द्रित संरचनातर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
पार्टीभित्र वैचारिक बहस कमजोर बन्दै जानु, निर्णय प्रक्रिया केही सीमित व्यक्तिहरूमा केन्द्रित हुनु, जनतासँगको सम्बन्ध कमजोर हुनु तथा संगठनात्मक जीवनमा आलोचना–आत्मआलोचनाको संस्कृति क्षीण हुँदै जानुलाई नेताहरूले पराजयका प्रमुख कारणका रूपमा औंल्याएको नेताहरूले बताए ।
भेलामा सहभागी एक पदाधिकारीका अनुसार धेरै वक्ताहरूले एमालेको समस्या प्रतिपक्षी दल होइन, आफ्नै कार्यशैली हो भन्ने निष्कर्ष प्रस्तुत गरेका थिए ।
‘हामीले जनताको मन जित्ने राजनीति छाडेर सत्ता व्यवस्थापनलाई प्राथमिकता दियौं, त्यसको परिणाम अहिले देखिएको छ,’ एक नेताले बैठकमा राखेको धारणा उद्धृत गर्दै पदाधिकारीले बताए ।
समीक्षा कार्यक्रममा प्रत्यक्ष रूपमा अध्यक्ष केपी शर्मा ओलीको नाम लिएर आलोचना गर्ने नेताहरू पनि देखिएका थिए । यद्यपि केही नेताहरूले सबै दोष एक व्यक्तिमाथि थोपर्न नहुने तर्क समेत गरेका थिए । स्रोतका अनुसार अधिकांश वक्ताहरूको निष्कर्ष भने नेतृत्वको शीर्ष तहमा परिवर्तनको आवश्यकता रहेको तर्फ केन्द्रित थियो ।
कतिपय सहभागीहरूले अध्यक्ष ओलीले मात्र होइन, पदाधिकारी तहका नेताहरूको समेत जिम्मेवारी पुनः परिभाषित गर्नुपर्ने धारणा राखेका थिए । केहीले नेतृत्व पुस्तान्तरणको बहसलाई अब टार्न नसकिने बताएका थिए भने केहीले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने विकल्पसमेत सुझाएका थिए ।
एक सहभागीका अनुसार बैठकमा उठेको सबैभन्दा गम्भीर प्रश्न थियो– यदि अहिले पनि समीक्षा र सुधार भएन भने एमालेको भविष्य के हुन्छ ? भेलामा सहभागी अधिकांश नेताहरूले पछिल्लो निर्वाचन परिणामलाई एमालेको मात्र नभई समग्र नेपाली कम्युनिष्ट आन्दोलनको चेतावनीका रूपमा व्याख्या गरेका थिए ।
जनतामा विकास, समृद्धि र राजनीतिक स्थायित्वप्रतिको आशा क्रमशः कमजोर हुँदै जानु, पार्टीले नयाँ पुस्ताको आकांक्षालाई सम्बोधन गर्न नसक्नु तथा बदलिँदो सामाजिक राजनीतिक यथार्थअनुसार आफूलाई रूपान्तरण गर्न नसक्नुले आन्दोलन नै संकटमा परेको बैठकमा बोल्ने नेताहरूको समान धारणा रहेको ती नेताले जानकारी दिए ।
छलफलमा सहभागी एक पदाधिकारीका अनुसार यदि अहिले पनि आत्मसमीक्षा केवल औपचारिकतामा सीमित भयो भने कम्युनिष्ट आन्दोलन क्रमशः सानो घेरामा सीमित हुने जोखिम छ । उनले भने, ‘प्रायः सबै सदस्यको चिन्ता यही रहेको थियो ।’
पार्टीभित्र नेतृत्व र संगठन पुनर्गठनको विषय उठेपछि एमालेले यसबारे सुझाव संकलन गर्न उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले सातै प्रदेशमा पुगेर नेता कार्यकर्ताको सुझाव संकलन गरिरहेको छ ।
ती सुझावहरू केन्द्रीय कमिटीमा प्रस्तुत गरिने कार्यदलका एक सदस्यले जानकारी दिए । त्यसपछि विशेष महाधिवेशन बोलाउने, संगठनात्मक पुनर्संरचना गर्ने वा नेतृत्व व्यवस्थापनका विकल्पबारे निर्णय हुन सक्ने ती सदस्यले बताए ।
एमालेका एक पदाधिकारीका अनुसार एमालेभित्र पहिलोपटक प्रदेशस्तरबाट यति खुलेर नेतृत्व पुनर्गठनको माग उठेकाले यसको प्रभाव केन्द्रीय राजनीतिसम्म पुग्ने सम्भावना बलियो छ ।
समीक्षा कार्यक्रमपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले सामाजिक सञ्जालमार्फत लुम्बिनीमा कम्युनिष्ट आन्दोलनले गम्भीर धक्का बेहोरेको स्वीकार गरेका छन् । उनले पराजयबाट शिक्षा लिएर आत्मसमीक्षा, संगठन सुदृढीकरण र पुनर्गठनमार्फत आन्दोलनलाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिएका छन् । पौडेलको अभिव्यक्तिलाई एमालेभित्र उठिरहेको असन्तुष्टिलाई नेतृत्वले पूर्ण रूपमा अस्वीकार नगरेको संकेतका रूपमा पनि हेरिएको वताइएको छ ।
यता अध्यक्ष ओलीले भने समीक्षा कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै नेतृत्व परिवर्तनको बहसलाई अस्वीकार गरेका छन् । भर्चुअल सम्बोधनमा उनले नेतृत्वको विकल्प खोज्ने बहसलाई बेमौसमी टिप्पणी गर्दै अहिले पार्टी एकता जोगाउने र संगठन सुदृढ बनाउने काममा केन्द्रित हुन आग्रह गरेका छन् ।
ओलीले एमालेमा महाधिवेशनबाट निर्वाचित नेतृत्व महाधिवेशनबाटै परिवर्तन हुने परम्परा रहेको स्मरण गराउँदै आफू कुनै दबाब वा परिस्थितिका आधारमा नेतृत्व छाड्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । उनको यो अभिव्यक्तिलाई पार्टीभित्र बढ्दो नेतृत्व परिवर्तनको मागप्रति प्रत्यक्ष जवाफका रूपमा हेरिएको छ ।
चन्द्रौटाको समीक्षा कार्यक्रमले एमालेभित्र दुई स्पष्ट धार देखाएको छ । एउटा धार वर्तमान संकटको समाधान नेतृत्व पुनर्गठनमा देख्छ भने अर्को धार संगठनात्मक एकतालाई प्राथमिकता दिनुपर्ने पक्षमा छ । तर उपाध्यक्ष पौडेलका अनुसार लुम्बिनीबाट उठेको पार्टी पुनर्गठनको आवाज अब सामान्य असन्तुष्टि मात्र होइन, एमालेको भावी दिशा र नेतृत्व संरचनाबारे राष्ट्रिय तहमा बहस सिर्जना गर्ने राजनीतिक मुद्दा बनेको छ ।
सातै प्रदेशबाट आउने सुझाव र त्यसपछि हुने केन्द्रीय कमिटी बैठकले एमाले केवल संगठनात्मक सुधारतर्फ जान्छ कि नेतृत्व परिवर्तनको बहसलाई संस्थागत रूप दिने अर्का एक पदाधिकारीले जानकारी दिए ।