अपहरण धन्दामा भारतीय, बालकलाई चितवनबाट काठमाडौं ल्याई २२ लाख फिरौती माग

काठमाडौं । चितवनबाट अपहरण गरेका बालकको काठमाडौंको गंगबुस्थित एक होटलबाट सकुशल उद्धार भयो ।  असार १ गते साँझ साढे ६ बजे चितवनको नारायणगढबाट ५/ ६ जनाको समूहले १५ वर्षीय बालक अपहरण गरेका थिए ।

भरतपुर महानगरपालिका २ बस्ने बालकलाई भारतीय नम्बरको गाडीमा राखेर काठमाडौं ल्याएका थिए। गंगबुको एक होटलमा राखेर पीडित परिवारसँग फिरौती रकम माग गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

पक्राउ पर्नेमा भारतको बिहार बेतियाका १८ वर्षीय सुजित कुमार, १८ वर्षकै गोलुकुमार सोनी, १८ वर्षकै गोलु कुमार, १८ वर्षकै बिक्कि कुमार र १८ वर्षकै मोहम्मद साहिद रहेका छन् । 

जेठ २९ गते भारतको बेतियामा अपहरणको योजना बनाएको खुलेको प्रहरीले उल्लेख गरेको छ । सुजितकुमार सहित ५ जनाले अपहरणको योजना बनाएर भोलिपल्ट जेठ ३० गते वीरगनज भन्सारबाट गाडीको पास बनाएर नेपाल प्रवेश गरेका थिए।

गोलु कुमारको आधारगार्डबाट नेपाली सिमकार्ड निकालेर वाट्सएप प्रयोग गरेको पाइएको छ । जेठ ३० गते राति १० बजे चितवन पुगेका थिए । चितवनमा काम गर्ने सुजितकुमारका साथीले गुल्मैली होटलमा दुई दिन बस्नको लागि व्यवस्थापन गरिदिएका थिए । 

असार १ गते ती बालकलाई सुजितकुमारले इन्स्टाग्राममा सम्पर्क गरी सिद्धार्थ स्कुलको पछाडि बोलाई ४ जनाले गाडीमा चढाएका थिए। त्यसपछि आफू बसिरहेको होटलमा लगेका थिए । त्यहाँ दुई घण्टा राखेर फकाएका थिए ।

बालकलाई गाडीमा चढाएर धारिलो हतियार देखाउँदै कुटपिट गर्दै हल्ला गरेमा ज्यान मार्ने धम्की दिएर काठमाडौँ ल्याएका कार्यालयका प्रवक्ता रामेश्वर कार्कीले बताए ।

असार १ गते राति ११ बजे कलंकी आएका थिए। उनीहरू राति १ बजे बिक्की पटेलले व्यवस्थापन गरेको नयाँ बसपार्कको होटल फ्यामिलीको कोठा नं २०३ मा बसेका थिए । 

असार २ गते बिहान बालकका बुबालाई वाट्सएपमा कल गरेर २४ घण्टाभित्र २२ लाख रुपैयाँ उपलब्ध गराउन अन्यथा छोराको ज्यान लिन्छौं भन्दै फिरौती माग गरेको एसपी कार्कीले बताए । 

अपहरणकारीले फोन गरेपछि मात्रै बाबुले आफ्नो छोरा अपहरणमा परेको भन्दै प्रहरीलाई जानकारी गराएका थिए। उनले प्रहरीलाई फोन गर्नु पहिले एक व्यक्तिले ती अपहरणमा परेका बालकका बाबुलाई सोधेका थिए ।

अपहरणमा परेका बालकले कागजको टुक्रामा आफू अपहरणमा परेको भन्दै आफ्नो र बाबुको नाम, सम्पर्क नम्बर र प्रहरीलाई खबर गरिदिन भनेर लेखेका थिए। त्यो टुक्रा उनले होटल बाहिर फालिदिएका थिए । 

त्यो कागजात फेला पारेका व्यक्तिले उनका बाबुलाई फोन गरेका थिए। त्यसपछि प्रहरी पुगेर त्यस आसपास खोजि गर्दा बालक उक्त होटलमा बन्धक बनाइएको अवस्थामा फेला परेका थिए । पक्राउ परेका पाँच जनालाई अनुसन्धान गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको पनि एसपी कार्कीले बताए । 

Share News