प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी दलको माग

सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद प्रमेशकुमार हमाल । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं । विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमासम्बन्धी अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन मंगलबार (आज) पुनः माग गरेका छन् ।

आज बसेको प्रतिनिधिसभा बैठकको प्रारम्भमै विपक्षी सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशयको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ संसदको अभिलेखबाट हटाउन माग गरेका हुन् ।

बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले सीमा जस्तो संवेदनशील विषयमा प्रधानमन्त्री स्वयंले संसदमा स्पष्ट धारणा राख्नुपर्ने बताए । उनले नेपालको सीमामा भइरहेको भारतीय हस्तक्षेपबारे सरकार गम्भीर बन्न आवश्यक रहेको उल्लेख गरे ।

नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले पनि सीमासम्बन्धी विषयमा मन्त्रीमार्फत नभई प्रधानमन्त्रीले नै प्रत्यक्ष रूपमा संसदलाई स्पष्ट पार्नुपर्ने माग गरिन् ।

नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हितविपरीत रहेको दाबी गर्दै उक्त भनाइ संसदको रेकर्डबाट हटाउन माग गरिन् ।

यस्तै, श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले सीमा सम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने बताए । उनले सभामुखले उक्त अभिव्यक्तिलाई रेकर्डबाट हटाउने विषयमा आवश्यक रुलिङ गर्ने विश्वास व्यक्त गरे ।

राप्रपाकी सांसद सरस्वती लामाले सीमा र राष्ट्रिय अखण्डताजस्ता संवेदनशील विषयमा सरकार जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै जिम्मेवारीपूर्ण पदमा रहेका व्यक्तिबाट गैरजिम्मेवार अभिव्यक्ति आउनु उचित नभएको धारणा राखिन् ।

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर सत्तापक्ष र विपक्षबीच विवाद चर्किरहेका बेला विपक्षी दलहरूले संसदभित्र निरन्तर रूपमा उक्त भनाइ फिर्ता लिन तथा रेकर्डबाट हटाउन दबाब बढाइरहेका छन् ।

Share News