काठमाडाैं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ । ज्येष्ठ महाधिवेशन प्रतिनिधि ८१ वर्षीय शोभाकान्त बरालले गण्डकी प्रदेशमा पहिलो मत खसालेका छन् ।
मतदानका लागि मतदाता बिहानैदेखि लाइनमा लागेका थिए । अघिल्लो दिन मतदान गर्न नपाएका प्रतिनिधि आज मतदान गर्न पाउने भएपछि उत्साही देखिएका छन् । टाढा घर भएका प्रतिनिधि मतदान सकेर दसैँ मनाउन घर पुग्ने योजनामा छन् । मतदान सुरु भएसँगै कांग्रेस महाधिवेशन प्रतिनिधिमा पुनः उत्साह थपिएको छ ।
खराब मौसम र प्राविधिक समस्याका कारण मतदानमा ढिलाइ भएको थियो । ढिलो गरी मतदान सुरु गर्दा राति मतदातालाई कठिनाइ हुने भएकाले हिजो अपराह्नदेखि गर्ने भनिएको मतदान आज बिहानका लागि सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बताए । मतदाताको स्वास्थ्यलाई ध्यानमा राखेर मतदानको समय सारिएको उनले जानकारी दिए ।
उनले दिउँसो ३ बजेसम्म मतदान गर्न कसिने बताए । महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ रहेको पनि सदस्य सचिव कटुवालले बताए ।
निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले साँझमा मतदान शुरू गर्दा रातभर मतदातालाई अप्ठेरो पर्ने भएकाले त्यसलाई मध्यनजर गर्दै आज बिहानदेखि थालिएको बताए । उनले मतपत्र धेरै भएकाले आफूसँगै ३२ जना वरिष्ठ अधिवक्ताहरूले मतपत्रमा हस्ताक्षर गरेको बताए । उम्मेदवार र मतदाता धेरै भएका कारण मतपत्र छपाइमा ढिलाई भएको थियो ।
आर्थिक व्यवस्थापन समितिका संयोजक उमेश श्रेष्ठले महाधिवेशन एक दिन लम्बिएको भन्दै महाधिवेशन प्रतिनिधिको शुक्रबारको होटल बसाई खर्च र खाना खर्च पार्टीले नै बेहोर्ने बताए ।
कुन प्रदेशका प्रतिनिधिले कहाँ मतदान गर्ने ?
निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिको सहजताका लागि विभिन्न मतदान केन्द्र तोकेको छ । प्रतिनिधिहरूले आफूलाई तोकिएको प्रदेश तथा समूहअनुसार सम्बन्धित मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ ।
राष्ट्रिय सभा गृह, मतदान केन्द्र ‘क’ - बागमती प्रदेश
खुलामञ्च, मतदान केन्द्र ‘ख’ - कोशी प्रदेश तथा तराई-मधेस समूह
हिमाल हल - गण्डकी प्रदेश
तराई–मधेस हल - मधेस प्रदेश
पहाड हल - लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधि
परिचयपत्र र मतदाता नामावली रुजु गरिने
निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ । मतदान गर्नुअघि प्रत्येक प्रतिनिधिको परिचयपत्र तथा मतदाता नामावली रुजु गरिनेछ। रुजु प्रक्रिया पूरा भएपछि मात्रै प्रतिनिधिलाई मतदान गर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन समितिले मतदानस्थलमा मोबाइल फोन लगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न नपाइने जनाएको छ। प्रतिनिधिहरूले निर्वाचन समितिले तोकेको प्रक्रिया पूरा गरेर मात्रै मतदान गर्न पाउनेछन् ।
मतदानपछि मतगणना
निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना शुरू गर्ने जनाएको छ । मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरी आवश्यक प्रक्रिया पूरा गरेर मतगणना अघि बढाइनेछ । आजै मतगणना थालिने तयारी गरिएको समितिले जनाएको छ ।
मतगणना सम्पन्न भएपछि निर्वाचन परिणाम सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ। त्यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ ।
१५औँ महाधिवेशनले विधान संशोधन गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय बनाएको छ। नयाँ संरचनाअनुसार निर्वाचित हुने पदाधिकारी तथा केन्द्रीय सदस्यले आगामी कार्यकालका लागि पार्टीको नेतृत्व सम्हाल्नेछन् ।
महाधिवेशनको निर्वाचनमा सभापतिसहित प्रमुख पदमा प्रतिस्पर्धा रहेकाले मतदानलाई कांग्रेसको नयाँ नेतृत्व चयनका लागि महत्वपूर्ण मानिएको छ । प्रतिनिधिहरूको मतदानपछि आउने परिणामले पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक नेतृत्वसमेत तय गर्नेछ ।