६४ जिल्लामा रास्वपाको अधिवेशन सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संगठनात्मक संरचना निर्माण अभियानअन्तर्गत देशभरका अधिकांश तहमा अधिवेशन सम्पन्न गरेको जनाएको छ । 

पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले हालसम्म ४ हजार ३६३ वडामा, ६०९ पालिकामा तथा ६४ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिए ।

रास्वपाका अनुसार कर्णाली प्रदेशका डोल्पा र हुम्ला, लुम्बिनी प्रदेशको रुकुम पूर्व, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा मधेश प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाही जिल्लामा अधिवेशन हुन बाँकी रहेको छ ।

त्यस्तै, अधिवेशन प्रक्रिया सुरु भएर विभिन्न कारणले स्थगित भएका जिल्लामा सिन्धुपाल्चोक, सिराहा, महोत्तरी र रौतहट रहेका छन् ।

पार्टीले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश अधिवेशन सम्पन्न भइसकेको जनाएको छ । 

मधेश प्रदेशको अधिवेशन स्थगित रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको अधिवेशन प्रक्रिया जारी रहेको जानकारी दिइएको छ ।

रास्वपाले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने तयारीलाई तीव्र बनाएको जनाएको छ। पार्टी नेतृत्वका अनुसार महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै आगामी राजनीतिक कार्यदिशा तय गरिनेछ।

महामन्त्री बुर्लाकोटीले संगठन विस्तार अभियान अपेक्षाअनुसार अघि बढिरहेको उल्लेख गर्दै बाँकी जिल्लाहरूमा पनि छिट्टै अधिवेशन सम्पन्न गरिने बताए।

Share News