काठमाडौं । नेपाली चार्टर्ड एकाउन्टेन्ट गोविन्द शर्मा गैह्रे विश्व करदाता संघ (डब्ल्यूटीए) को सल्लाहकार बोर्डमा नियुक्त भएका छन् । पोल्यान्डको क्राकोमा आयोजित संघको साधारणसभा तथा सम्मेलनका क्रममा उनलाई उक्त जिम्मेवारी दिइएको हो ।
सन् २०२६ अक्टोबर ५ मा सम्पन्न साधारणसभाबाट भएको यस नियुक्तिले नेपालको करदाता अधिकार अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गरेको छ ।
विश्वका ५० भन्दा बढी देशका करदाता संगठन आबद्ध रहेको विश्व करदाता संघले करदाताको अधिकार संरक्षण, न्यायोचित कर प्रणाली र सार्वजनिक खर्चमा पारदर्शिताका लागि काम गर्दै आएको छ । संघले सरकारलाई थप उत्तरदायी बनाउने विषयमा पनि पैरवी गर्दै आएको छ ।
गैह्रे नेपाल करदाता कल्याण समाजका संस्थापक अध्यक्ष हुन् । उनले करदाताको हकहित संरक्षण, करसम्बन्धी जनचेतना अभिवृद्धि र कर प्रशासन सुधारका क्षेत्रमा काम गर्दै आएका छन् । कर नीतिलाई पारदर्शी र उत्तरदायी बनाउन पनि उनले पैरवी गर्दै आएका छन् ।
चार्टर्ड एकाउन्टेन्ट गैह्रेसँग वित्तीय तथा सञ्चालन लेखापरीक्षण, वित्तीय नियमन र पुँजी बजारसम्बन्धी कानुनी तथा अनुपालनका क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव छ । उनले व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातकसमेत गरेका छन् ।
कर तिर्ने दायित्वसँगै करदाताले निष्पक्ष व्यवहार र प्रभावकारी सार्वजनिक सेवा पाउनुपर्ने मान्यतालाई उनले महत्त्व दिँदै आएका छन् । कर प्रशासनमा पारदर्शिता र सार्वजनिक स्रोतको जवाफदेही उपयोग आवश्यक रहेको उनको धारणा छ ।
विश्व करदाता संघको सल्लाहकार बोर्डमा गैह्रेको सहभागिताले नेपाली करदाता समुदायका अनुभव र सरोकारलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट कर प्रशासन सुधार र करदातामैत्री नीति निर्माणका लागि अन्तर्राष्ट्रिय सहकार्यका अवसरसमेत विस्तार हुने विश्वास गरिएको छ ।