काठमाडौं । सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई बर्खास्त गर्ने निर्णय भएको छ । शुक्रबार (आज) गृह मन्त्रालयले एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
आचरणविपरीत कार्य गरेको भन्दै दाहाललाई बर्खास्त गर्ने निर्णय भएको हो । आजैका मितिदेखि लागू हुनेगरी उनलाई सेवाबाट हटाउने निर्णय भएको हो ।
एआईजी दाहालले आचरणविपरितका गतिविधि गरेको निश्कर्षसहितको प्रतिवेदन बिहीबार साँझ एआईजी अञ्जनी पोखरेलले गृह मन्त्रालयमा बुझाएका थिए । सोही प्रतिवेदनका आधारमा गृह मन्त्रालयले बर्खास्तको निर्णय गरेको हो ।
सशस्त्र प्रहरी ऐन तथा नियमावलीले दिएको अधिकार प्रयोग गरी गृहमन्त्री सुधन गुरुङले उनलाई सेवाबाट हटाउने निर्णय गरेका हुन् ।
मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालको इतिहासमा गृहमन्त्रीले ऐन तथा नियमावलीले दिएको अधिकार प्रयोग गरी उच्च तहका प्रहरी कर्मचारीमाथि यस प्रकारको विभागीय कारबाही गरेको जनाएको छ ।
गृह मन्त्रालयले मातहतका प्रहरी कर्मचारीको पदीय आचरण, संवेदनशील तथा गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेको पनि जनाएको छ ।
कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने मन्त्रालयको भनाइ छ ।
गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरणसम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवं छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा मिति २०८३र६र२३ गतेबाट लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारवाही गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्टको मुद्दा मिलाइदिने भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासम्म सम्पर्क स्थापित गरेका बिचौलिया इनम सापकोटासँग एआईजी दाहालको पनि सम्पर्क देखिएको भन्दै उनलाई कारवाही गरिएको हो ।
चोलेन्द्रदेखि दीपक र वंशीराजसम्म फैलिएको लहरो