इप्पान निर्वाचन : उत्तम भ्लोनको टिमलाई अध्यक्ष कार्कीको समर्थन

यस्तो बन्यो टिम

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी २४औं साधारण सभा तथा आठौं अधिवेशनको पूर्वसन्ध्यामा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमा मार्फत् वरिष्ठ उपाध्यक्षका उम्मेदवार उत्तम ब्लोनको टिमले “इप्पान भिजन २०२९” सार्वजनिक गर्दै ऊर्जा क्षेत्रका लागि नीतिगत एजेण्डा अघि सारेको छ । 

जसमा रोकिएका करिब १२ हजार मेगावाटका परियोजनाको पीपीए तत्काल खुलाउने, “टेक एन्ड पे” व्यवस्था हटाउने, निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण र विद्युत व्यापारमा प्रवेश दिने, ग्रिड एक्सेसलाई डेभलपर(मैत्री बनाउने तथा प्रसारण लाइन निर्माणलाई राष्ट्रिय प्राथमिकतालगायतका मागहरु रहेका छन् । 

कार्यक्रममा इप्पानका सल्लाहकार तथा प्रतिनिधि सभा सदस्य एलबी सावा लिम्बुले छिमेकी मुलुकहरूको उदाहरण दिँदै भारतमा ५ लाख ३९ हजार मेगावाट, चीनमा ३९ लाख ६० हजार मेगावाट र बंगलादेशमा ३२ हजार मेगावाट बढी विद्युत उत्पादन हुँदा पनि नेपालमा हाल करिब ४ हजार मेगावाट मात्र उत्पादन हुनुले अझै धेरै काम गर्न बाँकी रहेको औंल्याए ।

सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको र यो ऊर्जा व्यवसायीहरूका लागि ठूलो अवसर र चुनौती दुवै भएको उनले बताए । 

लिम्बुले नेपाल हाल ‘ग्रे लिस्ट’ मा रहेको र एक्सपोर्ट क्रेडिट एजेन्सीमा न्यून रेटिङ रहेका कारण वैदेशिक पुँजी भित्र्याउन चुनौती रहेको उल्लेख गर्दै नयाँ नेतृत्वले सरकार र नागरिकसँग संवाद गरी निजी क्षेत्रको तर्फबाट देशको समृद्धिको अगुवाइ गर्नुपर्नेमा जोड दिए । 

विधानको विवादबारे बोल्दै उनले नयाँ विधान पास गरेर प्रकृया अघि बढाउने समय अनुकूल नरहेकाले हाल इप्पानसँग उपलब्ध पुरानै विधान अनुसार नै सुरक्षित रूपमा साधारण सभा र नेतृत्व चयन सम्पन्न गर्न सबै ऊर्जा उद्यमीहरूलाई आग्रह गरे । 

त्यसैगरी, वर्तमान कार्यसमितिका अध्यक्ष गणेश कार्कीले वरिष्ठ उपाध्यक्षका उम्मेदवार उत्तम भ्लोनद्वारा प्रस्तुत प्रतिबद्धता र एजेन्डाहरूलाई पूर्ण समर्थन गर्दै इप्पानलाई सोही दिशामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

सन् २०५७ मा जम्मा ४ वटा कम्पनी र ७ जना संस्थापक सदस्यबाट सुरु भएको इप्पान आज ६८८ कर्पोरेट सदस्यहरू (मतदानको अधिकार भएका) र नवीकरण हुन बाँकी सहित ८०० भन्दा बढी कम्पनीहरूको विशाल र बलियो संस्था बनिसकेकोमा उनले खुसी व्यक्त गरे । 

एसोसिएट सदस्यहरूको हकमा भने विधानतः भोटिङ अधिकार नरहेको उनले प्रष्ट पारे । अध्यक्ष कार्कीले अहिले चर्चामा रहेको विधान संशोधनको विषयमा थप प्रष्ट पार्दै इप्पानको विधान २०५७ पछि २०६७, २०७६ र २०७८ मा संशोधन भएको जानकारी दिए । 

यसअघि उद्योग वाणिज्य महासंघको वस्तुगत संघका रूपमा रहँदा कडा व्यवस्था भएको महसुस गरी नयाँ साथीहरूलाई नेतृत्वमा आउन सहज बनाउनका लागि कार्यसमितिले विधान संशोधन गरिसकेको र अर्को कार्यकालदेखि कार्यसमिति सदस्य भएको व्यक्ति पनि सिधै वरिष्ठ उपाध्यक्ष वा अध्यक्ष उठ्न पाउने गरी बाटो खुला गरिएको उनले स्पष्ट पारे । 

आगामी २४ वटा पदका लागि हालसम्म १२५ वटा मनोनयन दर्ता फारम लिइसकिएको जानकारी दिँदै उनले यसले स्वच्छ प्रतिस्पर्धाको संकेत गरे तापनि भोलि मनोनयन दर्ता र फिर्ताको समयसम्म सर्वसम्मतिको प्रयास जारी रहने बताए । 

उनले उत्तम भ्लोनको नेतृत्वमा घोषित टिम ऊर्जावान्, व्यावसायिक र समावेशी (सोलार, हाइड्रो, विन्ड समेटिएको) भएको भन्दै आफ्नो व्यक्तिगत मत समेत यही टिमलाई दिने घोषणा गरे ।  लामाले यसअघि नै आफ्नो टिम घोषणा गरिसकेका छन्  ।

मुलुकमा दुई तिहाइ नजिकको बलियो सरकार भएको यो समयमा आवश्यक ऐन-कानुन निर्माण गर्न र ऊर्जा क्षेत्रलाई मर्यादित बनाउन यो टिमले आगामी ३ वर्षको कार्यकालमा परिणाम दिने विश्वासका साथ अध्यक्ष कार्कीले सम्पूर्ण उम्मेदवारहरूलाई विजयी गराउन अपिल गर्दै अग्रिम शुभकामना व्यक्त गरे ।

आगामी असार २९ गते अर्थात् शुक्रबार हुने अधिवेशन र नेतृत्व चयनका विषयमा केन्द्रित सो कार्यक्रममा ऊर्जा उद्यमी, पूर्वअध्यक्षहरू तथा सल्लाहकारहरूको उपस्थिति रहेको थियो । 

यस्तो छ उत्तम भ्लोन लामाको टिम: 

उत्तम भ्लोन लामा 
वरिष्ठ उपाध्यक्ष

उत्तरकुमार श्रेष्ठ
उपाध्यक्ष

हिमप्रसाद पाठक
उपाध्यक्ष

सुसन कर्माचार्य (राजभण्डारी)
उपाध्यक्ष

विक्रम बिष्ट
उपाध्यक्ष 

नरेन्द्र बल्लभ पन्थ
उपाध्यक्ष

टी.एन. आचार्य
महासचिव

कविता पोखरेल
उपमहासचिव

शंकर बश्याल 
कोषाध्यक्ष 

कुबेरमणि नेपाल
सचिव

विजयमोहन भट्टराई
सचिव

सुमन जोशी 
सचिव 

अभिज्ञा मल्ल
सचिव

ईशा श्रेष्ठ
कार्यसमिति सचिव

अनुप आचार्य
कार्यसमिति सदस्य

प्रतिमा ज्ञवाली
कार्यसमिति सदस्य

कदम केसी
कार्यसमिति सदस्य

वर्णन लामिछाने
कार्यसमिति सदस्य

जगतबहादुर पोखरेल
कार्यसमिति सदस्य

सरिता शाक्य
कार्यसमिति सदस्य 

ज्योति गैरे 
कार्यसमिति सदस्य

नारायण खनाल
कार्यसमिति सदस्य 

सोमनाथ कँडेल
कार्यसमिति सदस्य

Share News