काठमाडौं । गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएको छ । बाढीले तल्लो तटीय क्षेत्र आरुघाटसम्म क्षति पुर्याउन सक्ने जोखिम रहेकाले सतर्क रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।
प्राधिकरणकाका अनुसार बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत र आरुघाटसम्म क्षति पुर्याउन सक्ने जोखिम छ । त्यसैले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।
मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले पनि तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सतर्क रहन सूचना पठाइसकेको छ । महाशाखाकाका अनुसार बाढी आरुघाटसम्म आइपुग्न करिब तीन घण्टा लाग्ने अनुमान छ । त्यसैले आरुघाटसम्मका बासिन्दालाई सतर्क रहन आग्रह गर्दै एसएमएस पठाइएको हाे ।
गोरखाको चुमनुम्ब्री गाउँपालिका-६ स्थित चुम्चेत क्षेत्रबाट स्थानीय खोला हुँदै बाढी बूढीगण्डकी नदीमा मिसिएको हो । बूढीगण्डकी नदी मनास्लु हिमालको पूर्वी मोहोडा हुँदै बग्छ ।
बाढी आउनुको कारण अहिलेसम्म खुल्न सकेको छैन । माथिल्लो क्षेत्रमा वर्षा भएको अभिलेख नरहेको प्राधिकरणले जनाएको छ । कतै पहिरो गएर नदीको बहाव रोकिएको र पछि अवरोध हट्दा वा बाँध फुट्दा आकस्मिक बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्राधिकरणले जनाएको छ ।