बाढीपहिरोले ५ राजमार्ग प्रभावित, यी सडकमा एकतर्फी यातायात सञ्चालन

काठमाडौं । बाढीपहिरोका कारण देशका विभिन्न जिल्लामा सडक तथा राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आइतबार साढे ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै बागमती र गण्डकी प्रदेशका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।

प्रहरीको विवरणअनुसार रसुवामा बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध छ । भदौ १० गतेदेखि अवरुद्ध भएको उक्त सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आएको छैन ।

धादिङको धुनिबेंसी नगरपालिका–९ स्थित खत्रीपौवामा पहिरोका कारण त्रिभुवन राजपथ प्रभावित भएको छ । असोज २१ गतेदेखि अवरुद्ध उक्त सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशका विभिन्न जिल्लामा पनि बाढीपहिरोले सडक आवागमन प्रभावित बनाएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ स्थित बैसरीमा पहिरोका कारण बेनी–जोमसोम सडकखण्डमा यातायात प्रभावित भएको छ । उक्त सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।

नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो क्षेत्रमा पनि सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोरको उक्त खण्डमा एकतर्फी यातायात सञ्चालन भए पनि ठूला सवारीसाधन आवागमन गर्न नसक्ने अवस्था रहेको नेपाल प्रहरीले जनाएको छ । 

त्यस्तै, मनाङमा बाढीका कारण बेँसीसहर हुँदै खाङसारसम्म जाने सडक प्रभावित भएको छ । उक्त सडकखण्डमा पनि एकतर्फी यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

Share News