मध्यपूर्वको लामो युद्धले विश्व अर्थतन्त्र संकटमा, मन्दी र उच्च मुद्रास्फीतिको चेतावनी

विश्वव्यापी आर्थिक वृद्धि सन् २०२६ मा तीव्र रूपमा घटेर २.१ प्रतिशत रहने

काठमाडौं । मध्यपूर्वको युद्ध आगामी वर्षसम्म लम्बिएमा केही देशहरूमा आर्थिक मन्दी र तीव्र रूपमा उच्च मुद्रास्फीति हुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ले बुधबार यस्तो चेतावनी दिएको हो।

रोयटर्सका अनुसार यदि यो द्वन्द्व अल्पकालीन साबित भयो भने खाडी क्षेत्रको तेल र ग्याँस उत्पादन तेस्रो त्रैमासिकदेखि बिस्तारै संकट पूर्वको अवस्थामा फर्किन सक्छ । यस अवस्थामा अभाव एसियामा मात्र सीमित हुनेछ र रणनीतिक मौज्दात तथा अन्य उत्पादकहरूबाट हुने आपूर्तिले यसलाई सन्तुलनमा राख्नेछ ।

विश्वव्यापी आर्थिक वृद्धि सन् २०२५ को ३.४ प्रतिशतबाट घटेर सन् २०२६ मा २.८ प्रतिशतमा सीमित हुने र सन् २०२७ मा बढेर ३.१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ, जुन ओईसीडीको मार्च महिनाको पूर्वानुमानसँग मिल्दोजुल्दो छ ।

‘यो अवरोध जति लामो समयसम्म रहन्छ, यस संकटको आर्थिक मात्र नभई सामाजिक लागत पनि त्यति नै बढी हुनेछ र यसले निश्चित रूपमा नीतिगत परिवर्तनहरू गर्न अझ गाह्रो बनाउनेछ,’ ओईसीडीका मुख्य अर्थशास्त्री स्टेफानो स्कार्पेट्टाले पत्रकार सम्मेलनमा भने ।

यदि ऊर्जा आपूर्तिमा हुने अवरोध आगामी वर्षसम्म कायमै रह्यो भने विश्वव्यापी आर्थिक वृद्धि सन् २०२६ मा तीव्र रूपमा घटेर २.१ प्रतिशत र सन् २०२७ मा १.८ प्रतिशतमा सीमित हुन सक्छ । यस्तो न्यून वृद्धि दर सन् २००८–२००९ को वित्तीय संकट वा कोभिड महामारी जस्ता ठूला संकटबाहेक अन्य समयमा विरलै देखिन्छ ।

यसबाट केही अर्थतन्त्रहरू पूर्ण आर्थिक मन्दीमा पर्न सक्छन्, जसमा मध्यपूर्वको ऊर्जा आपूर्तिमा निर्भर रहेका एसियाली देशहरू सबैभन्दा बढी प्रभावित हुने अपेक्षा गरिएको छ ।

लामो समयसम्म अवरोध हुने परिदृश्यमा ऊर्जाको उच्च मूल्यले सन् २०२६ मा विश्वव्यापी मुद्रास्फीतिमा ०.४ प्रतिशत र सन् २०२७ मा १.३ प्रतिशत थप्न सक्छ । जसका कारण केन्द्रीय बैंकहरूले अल्पकालमा ब्याजदर ०.५ देखि ०.७५ प्रतिशतसम्म बढाउन बाध्य हुन सक्छन् ।

ओईसीडीले जी–२० देशहरूमा मुद्रास्फीति यस वर्ष ४ प्रतिशतको उच्च विन्दुमा पुग्ने र आगामी वर्ष घट्दै ३.१ प्रतिशतमा झर्ने पूर्वानुमान गरेको छ । यस वर्ष ब्याजदरहरू धेरै हदसम्म यथावत् रहने र आगामी वर्ष कटौती हुने अपेक्षा गरिएको छ ।

‘लगभग एक तिहाइ ओईसीडी अर्थतन्त्रहरूले यस वर्ष नकारात्मक वास्तविक ज्याला वृद्धिको सामना गर्ने प्रक्षेपण गरिएको छ । यी देशका श्रमिकहरूको जीवनस्तर खस्कनेछ, जुन मुद्रास्फीतिको तथ्यांक पछाडिको मानवीय यथार्थ हो,’ ओईसीडीका महासचिव मथियास कोरम्यानले भने ।

सन् २०२५ को बलियो स्थिति पछि विश्वव्यापी व्यापार वृद्धि केही सुस्त हुने देखिएको छ, यद्यपि कृत्रिम बौद्धिकता (एआई) सँग सम्बन्धित सामान र लगानीको बलियो मागले विशेष गरी एसियामा केही सहयोग पुर्याउनेछ ।

बलियो ऊर्जा निर्यातले अमेरिकी आर्थिक वृद्धिलाई सहयोग गर्ने अपेक्षा गरिएको छ, जसले घरायसी क्रयशक्तिमा उच्च मूल्यका कारण पर्ने नकारात्मक असरलाई आंशिक रूपमा कम गर्नेछ । अमेरिकी आर्थिक वृद्धि सन् २०२५ को २.१ प्रतिशतबाट घटेर सन् २०२६ मा २.० प्रतिशत र सन् २०२७ मा १.८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

युरोपमा युरो जोनको आर्थिक वृद्धि यस वर्ष १.४ प्रतिशतबाट घटेर ०.८ प्रतिशतमा झर्ने अनुमान गरिएको छ । यद्यपि लचिलो श्रम बजार र उच्च रक्षा खर्चले सरकारको खर्च कटौतीको असरलाई कम गर्न मद्दत गर्ने भएकाले आगामी वर्ष यो वृद्धि १।२ प्रतिशत पुग्ने अनुमान छ ।

ब्रिटेनमा विश्वव्यापी व्यापार स्थिर बन्दै जाँदा र वित्तीय अवस्थाहरू सहज हुँदै जाँदा आर्थिक वृद्धि यस वर्ष ०.९ प्रतिशतमा सुस्त हुने र सन् २०२७ मा सुधार भई १.१ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

एसियामा चीनको आर्थिक वृद्धि सन् २०२५ को ५.० प्रतिशतबाट घटेर सन् २०२६ मा ४.५ प्रतिशत र सन् २०२७ मा ४.३ प्रतिशत हुने अनुमान गरिएको छ । पर्याप्त ऊर्जा भण्डारणका कारण तेलको मूल्यवृद्धिबाट चीनमा कम असर पर्ने देखिन्छ । अमेरिकी भन्सार शुल्कमा भएको कटौती र प्रतिस्पर्धी प्रविधि क्षेत्रबाट चिनियाँ निर्यातले लाभ उठाउने भए तापनि घरजग्गा व्यवसायमा मन्दी अझै पनि बाधकको रूपमा रहनेछ ।

खाडी द्वन्द्वसँग जोडिएको व्यापार अवरोधबाट जापान सबैभन्दा बढी प्रभावित हुने देशहरूमध्ये एक हुने अपेक्षा गरिएको छ । जापानको आर्थिक वृद्धि सन् २०२५ को १.१ प्रतिशतबाट घटेर सन् २०२६ मा ०.६ प्रतिशत हुने र सन् २०२७ मा केही बढेर ०.८ प्रतिशत पुग्ने अनुमान छ, जुन मार्च महिनाको पूर्वानुमानभन्दा कम हो ।

सरकारी अनुदानले ऊर्जा संकटको असर कम गर्न मद्दत गरे तापनि, ब्याजदर बढ्दै जाँदा जापानले मध्यम अवधिमा सार्वजनिक वित्तलाई नियन्त्रणमा राख्न ‘स्पष्ट र विश्वसनीय’ योजना बनाउन आवश्यक रहेको ओईसीडीले जनाएको छ ।
 

Share News