काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।
एमाले केन्द्रीय संगठन विभागद्वारा काठमाडौंमा आयोजित सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा विषयक दुईदिने राष्ट्रिय कार्यशालामा सहभागी हुँदै ओली सार्वजनिक रूपमा देखिएका हुन् ।
प्रतिनिधिसभा निर्वाचनमा आफू र पार्टी दुवै पराजित भएपछि ओली कुनै सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् ।
निर्वाचनपश्चात गठन भएको बालेन्द्र शाह नेतृत्वको सरकार बनेको भोलिपल्टै ओली पक्राउ परेका थिए । रिहाइपछि स्वास्थ्य समस्याका कारण पत्थरीको शल्यक्रिया गराएका ओली चिकित्सकको सल्लाहअनुसार घरमै आराम गरिरहेका थिए ।
लामो समयपछि सार्वजनिक कार्यक्रममा उपस्थित भएका ओलीले एमालेको सदस्यता नवीकरण, विस्तार तथा संगठन सुदृढीकरणसम्बन्धी कार्यशालामा सहभागिता जनाएका हुन् । कार्यशालामा पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला तहका संगठन विभागका जिम्मेवार नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।