भेटवार्तासँगै रवि र भाजपाका अध्यक्षबीच लञ्च पार्टी, के-के भयो कुराकानी ?

नेपाल र भारतबीच साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरको बलियो सम्बन्धबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविनबीच भेटवार्ता भएको छ । मंगलबार सभापति रवि लामिछानेको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको मुख्यालयमा अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेको हो । भाजपाले प्रेस विज्ञप्ति नै जारी गरेर भेटवार्तामा भएको कुराकानी सार्वजनिक गरेको छ । 

भेटका क्रममा नितिन नवीनले भारत र नेपालबीच साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरको बलियो सम्बन्धमा आधारित ऐतिहासिक र निकट सम्बन्ध रहेको उल्लेख गर्दै यस्ता अन्तरक्रियाले लोकतान्त्रिक संवादलाई सुदृढ बनाउनुका साथै भाजपा र रास्वपाबीचको दलगत सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने बताए । यो भेटवार्ता भाजपाको ‘नो भाजपा’ कार्यक्रम अन्तर्गत भएको हो । 

उनले भाजपा स्थापनादेखिको यात्रा, पार्टीको विचारधारा, संगठनात्मक संरचना तथा जनकेन्द्रित राजनीतिक अभ्यासबारे जानकारी गराएका थिए । नवीनले राष्ट्रिय तहदेखि बुथ तहसम्मको संगठनात्मक मोडेल प्रस्तुत गर्दै स्थानीय तहका कार्यकर्तामार्फत जनतासँग प्रत्यक्ष र निरन्तर सम्पर्क कायम राख्ने भाजपाको अभ्यासबारे चर्चा गरे ।

अन्तरक्रियाका क्रममा रास्वपा प्रतिनिधिमण्डलले भाजपा सदस्यता प्रक्रिया, उम्मेदवार छनोट प्रणाली तथा स्थानीय तहका कार्यकर्ताको पहिचान र परिचालन गर्ने संयन्त्रबारे चासो व्यक्त गरेको थियो । जवाफमा नवीनले निरन्तर जनसम्पर्क, बुथस्तरीय सक्रियता तथा लोकतान्त्रिक प्रक्रियामा आम नागरिकको सहभागितामार्फत भाजपाको संगठनात्मक शक्ति निर्माण भएको बताए । 

नवीनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा कार्यान्वयन भइरहेको विकासमुखी सुशासन मोडेलबारे पनि जानकारी दिएका थिए । विकास, सेवा, सुशासन तथा जनकल्याणका कार्यक्रम भाजपाको शासन र जनसम्पर्क रणनीतिको केन्द्रमा रहेको उनको भनाइ थियो ।

भेटवार्ताका क्रममा दुवै पक्षले राजनीतिमा जेनजी पुस्ताको बढ्दो भूमिका र सम्भावनाबारे समेत छलफल गरेका थिए। लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताको भूमिकाबारे विचार आदानप्रदान भएको जनाइएको छ ।

भेटमा भाजपा राष्ट्रिय महासचिव अरुण सिंह, सांसद सञ्जय जैसवाल, सांसद बाँसुरी स्वराज तथा भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले पनि सहभागी थिए ।

रास्वपा प्रतिनिधिमण्डलले भाजपा मुख्यालयस्थित मिडिया सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो । भेटपछि आयोजित दिवाभोज कार्यक्रममा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, सांसद मनोज तिवारी, प्रविण खण्डेलवाल, बाँसुरी स्वराज, हर्ष मल्होत्रा तथा रामवीर सिंह बिधुरीलगायत नेता सहभागी भएका थिए ।
 

Share News