प्रधानमन्त्रीको सीमासम्बन्धी भनाइबारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण: कूटनीतिक वार्तामा जोड

काठमाडौं । नेपाल-भारत सीमाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको विषयमा सञ्चारमाध्यमबाट सोधिएका प्रश्नहरूका बारेमा परराष्ट्र मन्त्रालयका प्रवक्ताले स्पष्ट पारेका छन् ।

नेपाली भूमि लिपुलेक क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको आधिकारिक धारणा यस मन्त्रालयले २०८३ वैशाख २० गते नै स्पष्ट पारिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यस विषयमा नेपालले पठाएको कूटनीतिक नोटको जवाफ भारत सरकारबाट पनि कूटनीतिक नोटमार्फत नै प्राप्त भएको र दुवै देशले सीमासम्बन्धी विवादलाई कूटनीतिक माध्यम तथा आपसी छलफलबाट समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल र भारतबिच सदियौं पुरानो, लामो र खुला सिमाना रहेको सर्वविदितै छ । नेपालको हालको अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ । 

नेपाल-भारत सिमानाअन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ । 

ती स्थानबाहेक अन्य केही स्थानमा ‘क्रस बोर्डर अकुपेसन’ (सीमा वारपारको जग्गा भोगाधिकार) तथा दशगजा अतिक्रमणका समस्याहरू विद्यमान छन् ।

यसै सन्दर्भमा प्रधानमन्त्रीले संसद्मा उल्लेख गरेको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको मन्त्रालयले प्रस्ट पारेको छ । 

नेपाल–भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा ‘फिक्स्ड बाउन्ड्री प्रिन्सिपल’ अवलम्बन गरेका कारण सीमा वारपारको जग्गा भोगाधिकार भई एक देशका नागरिकले अर्को देशको भूभागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल र भारतबीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढङ्गले नक्साङ्कन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, मर्मत, दशगजा क्षेत्रको अतिक्रमण तथा सीमा वारपारको जग्गा भोगाधिकारको लगत सङ्कलन गर्न दुई देशका सीमासम्बन्धी संयन्त्र र प्राविधिक टोली क्रियाशील रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा पुनः सुरु भएको र संयुक्त रूपमा लगत सङ्कलन गर्ने कार्य भइरहेको बताएको छ ।

प्राविधिक समितिको अध्ययनले कतिपय स्थानमा हाल नेपालको उपयोग र उपभोगमा रहेको जग्गा भारततर्फ पर्न सक्ने र हाल भारतको उपभोग र उपयोगमा रहेको जग्गा नेपालतर्फ पर्न सक्ने देखाएको छ । 

प्रधानमन्त्रीले संसद्मा राखेको  ‘कतिपय स्थानमा भारतको जग्गा नेपालतिर रहेको हुन सक्ने’ भनाइको सन्दर्भ यही प्राविधिक यथार्थ र ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।

नेपाल र भारतबिचको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप, ऐतिहासिक सन्धि-सम्झौता तथा नक्साका आधारमा सीमासम्बन्धी समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

 

Share News