काठमाडौं । विश्वभरका सेयर बजारमा शुक्रबार ठूलो गिरावट आएको छ । तेलको मूल्य लगातार बढ्न थालेपछि लगानीकर्तामा आर्थिक चिन्ता बढ्दै जाँदा अमेरिकासहित विश्वका प्रमुख सेयर बजारहरू दबाबमा परेका हुन् । विशेषगरी कृत्रिम बुद्धिमत्ता प्रविधिसँग सम्बन्धित कम्पनीहरूको सेयरमा तीव्र गिरावट आएपछि बजारमा व्यापक असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकाको एस एन्ड पी ५ सय सूचकाङ्क अघिल्लो दिन बनाएको ऐतिहासिक उच्च बिन्दुबाट करिब १.२ प्रतिशतले घटेको छ । त्यस्तै डाउ जोन्स औद्योगिक सूचकाङ्क ५३७ अंकले ओरालो लागेको छ भने नास्डाक सूचकाङ्क करिब १.५ प्रतिशतले घटेको बताइएको छ । पछिल्ला महिनाहरूमा कृत्रिम बुद्धिमत्ता प्रविधिप्रति बढेको उत्साहका कारण तीव्र उकालो लागेको प्रविधि कम्पनीहरूको सेयरमा अचानक गिरावट आएपछि बजार अस्थिर बनेको हो ।
कृत्रिम बुद्धिमत्ता क्षेत्रको प्रमुख कम्पनीका रूपमा चिनिएको एनभिडियाको सेयर मात्रै ४.४ प्रतिशतले घटेको छ । यद्यपि यस वर्ष हालसम्म उक्त कम्पनीको सेयर मूल्य २६ प्रतिशतभन्दा बढीले बढिसकेको थियो । त्यस्तै माइक्रोन टेक्नोलोजीको सेयर ६.६ प्रतिशतले घटेको छ, यद्यपि यस वर्ष कम्पनीको सेयर मूल्य अझै पनि करिब १५४ प्रतिशतले माथि रहेको बताइएको छ ।
विश्लेषकहरूले बजार अत्यधिक बढेको अवस्थामा पुगेकाले केही समयको गिरावट स्वाभाविक भएको बताएका छन् । बलियो अमेरिकी अर्थतन्त्र र कम्पनीहरूको राम्रो आम्दानीले बजारलाई उच्च विन्दुसम्म पुर्याए पनि आगामी दिन सहज नहुने चेतावनी दिइएको छ ।
यसबीच मध्यपूर्वमा जारी युद्धका कारण तेलको मूल्य निरन्तर बढिरहेको छ । विशेषगरी इरानसँगको द्वन्द्व लम्बिँदै जाँदा विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्ग हर्मुज जलडमरूमध्य बन्द रहेकाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल आपूर्ति प्रभावित भएको छ । तेल ट्याङ्करहरू आवतजावत गर्न नसक्दा विश्वभर तेलको मूल्य बढेको र त्यसले मुद्रास्फीतिको दबाब थप बढाएको विश्लेषण गरिएको छ । तेल मूल्य वृद्धिका कारण विश्व अर्थतन्त्रमा थप अनिश्चितता बढेको र त्यसको प्रत्यक्ष असर सेयर बजारमा देखिएको जनाइएको छ ।