विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्य बनाउन मौलिकता जोगाउन आग्रह

काठमाडौं । नेपाललाई विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न मौलिकता, संस्कृति, प्रकृति र स्थानीय समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल पर्यटन बोर्डको सभाहलमा बिहीबार आयोजित ‘वेलनेस पर्यटन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले सरकारले वेलनेस पर्यटन रणनीति कार्यान्वयन गरिरहेको बताएका छन् ।

उनले सन् २०२७ लाई ‘वेलनेस पर्यटन वर्ष’ घोषणा गरिसकिएको उल्लेख गर्दै त्यसको पूर्वसन्ध्यामा आयोजित अन्तरक्रियाले नीति तथा योजना निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । 'आजको प्रस्तुति र अन्तरक्रियाबाट प्राप्त हुने सुझावहरूले आगामी योजना निर्माणमा सहयोग पुग्ने विश्वास लिएको छु,' उनले भने ।

त्यसैगरी नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले नेपाल विश्वव्यापी वेलनेस यात्राका लागि प्राकृतिक रूपमा अनुपम गन्तव्य भएको बताए । उनले वेलनेस केवल सेवा नभई जीवनशैली भएको उल्लेख गर्दै नेपाली संस्कृति, परम्परा र प्राकृतिक वातावरणले विश्वलाई प्रेरित गर्न सक्ने धारणा राखे ।

'नेपालले प्रकृति, संस्कृति र साहसिक अनुभवमार्फत विश्वलाई प्रेरणा दिन सक्छ । नेपालको संस्कृति र प्रकृति नै आरोग्य पर्यटनका उत्कृष्ट स्रोत हुन्,' उनले भने ।

null

कार्यक्रमका मुख्य वक्ता हङकङ पोलिटेक्निक विश्वविद्यालय अन्तर्गतको स्कुल अफ होटल एन्ड टुरिजम म्यानेजमेन्टकी सहायक डिन प्रा. डा. डेनिज क्युचकुस्ताले ‘नेपालः सेक्रेड ल्यान्ड टु वेलनेस डेस्टिनेसन’ विषयमा प्रस्तुति दिएकी थिइन् ।

उनले विश्वभरका पर्यटक अहिले उपचार, आत्मिक सन्तुलन र अर्थपूर्ण अनुभवको खोजीमा यात्रा गरिरहेको उल्लेख गर्दै नेपाल वेलनेस पर्यटनको नेतृत्व गर्न प्राकृतिक रूपमा सक्षम रहेको बताइन् । उनले आध्यात्मिक तथा रूपान्तरणकारी यात्रा, प्रकृतिमा आधारित वेलनेस, फरेस्ट थेरापी तथा डिजिटल डिटक्स अहिलेका प्रमुख विश्वव्यापी प्रवृत्ति भएको बताइन् ।

'नेपालले वेलनेस आविष्कार गर्न आवश्यक छैन, यसलाई व्यवस्थित मात्र गर्नुपर्छ,' उनले भनिन् । उनले वेलनेस पर्यटनमा नेपालको मौलिकता जोगाउनु अत्यन्त आवश्यक रहेको र स्थानीय समुदायसँगको सहकार्यबाट मात्र दिगो विकास सम्भव हुने धारणा व्यक्त गरिन् ।

त्यसैगरी योग गुरु डा. प्रकाश आचार्यले योग र प्राणायामको महत्वबारे चर्चा गर्दै आधुनिक जीवनशैलीका कारण मौलिक योग अभ्यास हराउँदै गएको बताए । 'योग केवल व्यायाम होइन, समग्र जीवनशैली हो,' उनले भने । उनले स्वस्थ जीवनका लागि नियमित प्राणायाम अभ्यास आवश्यक रहेकोमा जोड दिए ।

वेलनेस अभियन्ता प्रेणा शाहले वेलनेस अहिले विश्वकै ठूलो उद्योगमध्ये एक बनिरहेको बताइन् । उनले नेपाललाई केवल ट्रेकिङ गन्तव्यका रूपमा मात्र नभई वेलनेस गन्तव्यका रूपमा पनि विश्वसामु प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याइन् ।

'हाम्रो संस्कृति, खानपान र दैनिक जीवनशैलीमै मौलिक वेलनेस अभ्यास छ । हामीले अन्य देशको नक्कल गर्नु पर्दैन, आफ्नै मौलिकता जोगाउनुपर्छ,' उनले भनिन् ।

कार्यक्रमको सुरुवात ‘साउन्ड हिलिङ’ सत्रबाट गरिएको थियो, जहाँ विभिन्न ध्वनिमार्फत मानसिक शान्ति र ऊर्जाको अनुभूति गराइएको थियो । कार्यक्रमको सहजीकरण बोर्डका वरिष्ठ अधिकृत रोविन रेग्मीले गरेका थिए ।

उनले नेपाल सरकारले प्राथमिकतामा राखेको वेलनेस पर्यटन प्रवर्द्धनमा बोर्ड सक्रिय रहेको उल्लेख गर्दै विश्वले शान्ति र आरोग्य खोजिरहेको वर्तमान अवस्थामा नेपाल उत्कृष्ट वेलनेस गन्तव्य बन्न सक्ने बताए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन महाशाखा प्रमुख सहसचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेसहित पर्यटन व्यवसायी, योग तथा वेलनेस विज्ञ, बोर्डका पदाधिकारी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

Share News