लामो मौनतापछि सक्रिय हुँदै ओली, एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आगामी शनिबार बस्ने तय भएको छ । बैठकको स्थान भने अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर पछि निर्धारण गरिने बताइएको छ ।

निर्वाचनपछि ओली पहिलो पटक पार्टीको औपचारिक बैठकमा सहभागी हुन लागेका हुन् । गत चैत १३ गते जेनजी आन्दोलनका क्रममा लापरबाहीपूर्वक मानिसको ज्यान गएको अभियोगमा पक्राउ परेका ओली चैत २६ गते रिहा भएका थिए । रिहाइपछि स्वास्थ्य समस्याका कारण उनी पार्टी गतिविधिबाट टाढा रहेका थिए ।

ओली हिरासतमा रहँदा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दिइएको थियो ।  बादलकै नेतृत्वमा यस अवधिमा एमाले सचिवालयका दुई बैठक सम्पन्न भएका थिए । 

पछिल्ला दिनमा एमालेभित्र शक्ति सन्तुलनको विषयले नयाँ मोड लिएको छ । उपाध्यक्षद्वय विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ तथा महासचिव शंकर पोखरेललगायत ओली निकट मानिने नेताहरूले समेत वैकल्पिक नेतृत्वबारे छलफल थालेको चर्चा छ ।

पार्टीभित्र बढ्दो असन्तुष्टि र समीक्षाको दबाबका बीच ओलीले बैठक टार्दै आएको आरोप असन्तुष्ट पक्षले लगाउँदै आएका थिए । निर्वाचनपछिको समीक्षा प्रक्रिया समेत अघि बढ्न नसकेको अवस्थामा सचिवालय बैठक बोलाइएपछि एमालेभित्र देखिएको अन्योल र गतिरोध हट्ने अपेक्षा गरिएको छ ।
 

Share News