बाँदर धपाउन लालीगुराँस नगरपालिकाले दियो सार्वजनिक विदा

काठमाडौं । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउनका लागि जेठ १ गते (शुक्रबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले सूचना जारी गर्दै जेठ १ गते अत्यावश्यक सेवाबाहेकका सेवा बन्द रहने जानकारी दिएको छ ।

बाँदरलाई सीमा कटाउन ठूलो जनपरिचालन आवश्यक पर्ने भएकाले सार्वजनिक बिदा आवश्यक भएको नगरपालिकाले सूचनामा उल्लेख गरेको छ । 

नगरपालिकाका अनुसार पछिल्लो समय बाँदरका कारण कृषिबालीमा व्यापक क्षति पुगेपछि समस्या समाधानका लागि सामूहिक रूपमा बाँदर लखेट्ने कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।  सूचनामा किसानले उत्पादन गरेको कृषि उपजमा ठूलो नोक्सानी भएको, साथै बाँदर आतंकका कारण बालबालिका विद्यालय जानसमेत प्रभावित भएको उल्लेख गरिएको छ ।

नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत बजेटअन्तर्गत ‘कृषिमा बाँदरबाट परेको क्षति न्यूनीकरण’ कार्यक्रममार्फत विभिन्न क्षेत्रमा बाँदर धपाउने अभियान सञ्चालन गर्न लागेको जनाएको छ । वडा नं. ८ को रंगमञ्च क्षेत्र, वडा नं. ५ को सिङ्गाप्पा क्षेत्रलगायत स्थानमा कार्यक्रम तय गरिएको छ । 

जेठ १ र २ गते सञ्चालन हुने उक्त कार्यक्रममा किसान, जनप्रतिनिधि, कर्मचारी तथा सर्वसाधारणलाई सहभागी हुन आग्रह गरिएको छ । ठूलो जनपरिचालन आवश्यक पर्ने भएकाले जेठ १ गते सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ।

null


 

Share News