काठमाडौं । नेपाली हस्तकलाको अन्तर्राष्ट्रिय प्रवर्द्धन र कूटनीतिक सहयोग विस्तार गर्ने उद्देश्यले नेपाल हस्तकला महासंघ र इन्टरनेशनल रिलेसन्स एण्ड ग्लोबल डिप्लोमेसी डाइलग (आईआरजीडीडी)बीच आपसी समझदारी भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष रविन्द्र शाक्य र आईआरजीडीडीकी अध्यक्ष तथा पूर्वराजदूत डा. शर्मिला पराजुली ढकालले समझदारीपत्रमा हस्ताक्षर गरे।
समझदारीअनुसार नेपाली हस्तकलालाई विश्वव्यापी ब्राण्डको रूपमा विकास गर्न आवश्यक कूटनीतिक पहल, अध्ययन–अनुसन्धान, नीतिगत संवाद र सीप–प्रविधिको पुस्तान्तरणमा सहकार्य गरिनेछ । हस्तकलालाई तुलनात्मक लाभयुक्त क्षेत्रका रूपमा चिनिँदै यसको अधिकतम प्रतिफल सुनिश्चित गर्न दुवै संस्थाले प्रतिबद्धता जनाएका छन् ।
नेपाली हस्तकला उद्योगमा हाल प्रत्यक्ष र अप्रत्यक्ष गरी झन्डै ११ लाख व्यक्ति संलग्न छन् । ३६ विधामा ८२ प्रकारका हस्तकला वस्तुहरू उत्पादन भइरहेको छ, जसको करिब २२ अर्ब रुपैयाँ बराबरको निर्यात विश्वका ६० देशमा भइरहेको छ । सोही परिमाणको आन्तरिक कारोबारलाई समेत जोड्दा हस्तकला क्षेत्रले वार्षिक करिब ४४ अर्ब रुपैयाँको आर्थिक योगदान पुर्याएको महासंघले जनाएको छ ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा महासंघका पदाधिकारी र आईआरजीडीडीका प्रतिनिधि तथा कर्मचारीको समेत उपस्थिति रहेको थियो ।