काठमाडौं । भिभो नेपालले राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा ‘न्यानो नानी’ परियोजनामा सहयोग गर्ने घोषणा गरेको छ ।
डा महावीर पुनको नेतृत्वमा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा, कम्पनीले हालै सार्वजनिक भिभो स्मार्टफोनको पहिलो ५० दिनभित्र बिक्री हुने प्रत्येक युनिटबाट ५० रुपैयाँ ‘न्यानो नानी’ परियोजनामा योगदान दिने भएको हो ।
‘न्यानो नानी’ एक स्थानीय रूपमा निर्माण गरिएको प्रविधि हो, जसले नेपालका दुर्गम तथा चिसा क्षेत्रहरूमा रहेका समयअगावै जन्मिएका वा कम तौलका नवजात शिशुहरूलाई आवश्यक जीवनदायिनी ताप प्रदान गर्छ ।
भिभो नेपालका ब्राण्ड म्यानेजर दिपेश खनालका अनुसार, 'राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गर्न पाउनु गर्वको विषय हो । यसले नवप्रवर्तन र नेपाली समुदायप्रतिको हाम्रो प्रतिबद्धता प्रस्ट्याउँछ ।'
राष्ट्रिय आविष्कार केन्द्रका महाप्रबन्धक कर्णेल सञ्जय झाले भिभो नेपालको समर्थनले परियोजना अझ धेरै समुदायसम्म विस्तार गर्न सघाउने विश्वास व्यक्त गरे ।
उक्त सहकार्यले प्रविधि र सामाजिक उत्तरदायित्वको समन्वय गर्दै स्थानीय आविष्कारलाई प्रोत्साहन र नवजात शिशुको जीवनरक्षा दुवैलाई सम्बोधन गरेको छ । भिभो नेपालको यो अभियान दिगो र सकारात्मक सामाजिक परिवर्तनतर्फ उन्मुख प्रभावकारी कदमका रूपमा हेरिएको छ।