काठमाडौं । नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम (एनआईआईएफ) मंगलबारदेखि काठमाडौंमा सुरु हुन लागेको छ।
यो फोरमको यो तेस्रो संस्करण हो, जुन यस वर्ष 'नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५' भन्ने नयाँ नाममा पुनःब्रान्ड गरिएको हो । जसको उद्देश्य नेपालमा वैदेशिक लगानी विस्तार गर्नु हो ।
पहिलो फोरममा ८ वटा विकास वित्तीय संस्थाहरू (डीएफआई) का प्रतिनिधिहरू सहभागी भएका थिए भने दोस्रो संस्करणमा १४ वटा डीएफआई तथा इम्प्याक्ट इन्भेष्टरहरू सहभागी थिए ।
यस वर्ष पनि फोरममा १४ वटा डीएफआई र इम्प्याक्ट इन्भेष्टरहरू सहभागी हुने जनाइएको छ ।
यो फोरमले डीएफआई र इम्प्याक्ट इन्भेष्टरहरूलाई नेपालमा एकसाथ ल्याउने महत्त्वपूर्ण भूमिका खेल्छ ।
यसले प्रतिनिधिहरूलाई नेपालमा वैदेशिक लगानीको परिवर्तित परिदृश्यलाई प्रत्यक्ष रुपमा अवलोकन गर्ने अवसर प्रदान गर्दछ । साथै सरकारी तथा नियामक निकायहरूसँग संवाद गर्न र सम्भावित लगानीकर्ताहरूसँग सम्बन्ध स्थापित गर्न सहयोग पुर्याउँछ । यस वर्षको संस्करणमा वैकल्पिक लगानी उद्योगलाई पनि समावेश गरिएको छ ।
कार्यक्रम इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) द्वारा आयोजना गरिएको हो, जुन नेपाल बैंकर्स संघ (एनबीए) र नेपाल प्राइभेट इक्विटी एसोसिएसन (एनपीईए) सँगको साझेदारीमा आयोजित गरिएको छ ।
फोरम भोलिदेखि बिहीबार ९जुन ३ देखि ५० सम्म सञ्चालन हुनेछ ।
पहिलो दिन वैदेशिक लगानी विस्तार, वित्तीय संस्थाहरूको जलवायु परिवर्तन संक्रमण योजनाहरूलाई समर्थन, र प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल (पीईभीसी) उद्योगको विस्तार सम्बन्धी उच्चस्तरीय प्रविधिक सत्रहरू हुने एनआईआईएफले जनाएको छ ।
दोस्रो दिन दीर्घकालीन सहकार्य तथा लगानी प्रवर्द्धनका लागि सरकार र विकास साझेदारहरूसँग रणनीतिक छलफल हुनेछ । त्यसैगरी, तेस्रो दिन सहभागी प्रतिनिधिहरूका लागि विभिन्न संघसंस्थामा फिल्ड भिजिट राखिएको छ ।
नेपाल इम्प्याक्ट इन्भेष्टमेन्ट फोरम २०२५ ले नेपालमा वैदेशिक पूँजीको प्रवाहलाई प्रवद्र्धन गर्न लगानीकर्ता र लगानी चाहने पक्षहरूबीच पुलको भूमिका खेल्दछ । यसले दीर्घकालीन सहकार्य निर्माण गर्न, लगानीकर्ताहरूको चासोलाई राष्ट्रिय प्राथमिकतासँग मिलाउन र दीर्घकालीन लगानीको बाटो खोल्न रणनीतिक अवसर प्रदान गर्दछ । यो फोरम सहकार्य, नवप्रवर्तन र नेपाललाई विश्वव्यापी लगानी प्रणालीसँग गहिरो रूपमा जोड्ने उद्देश्यमा केन्द्रित छ ।