कटारी । शौर्य सिमेन्टको आर्थिक सहयोगमा उदयपुर जिल्लाको कटारी नगरपालिका–७, मर्जेतपुर स्थित श्री सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका–८, आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन समारोह भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालय भवन उद्घाटनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथि कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सशक्त बनाउने शौर्य सिमेन्टको यस्तो प्रयासलाई सराहना गरे । उनले भने, शौर्य सिमेन्टको सामाजिक उत्तरदायित्वले विद्यालयको संरचना बनेको बताउँदै अब संरचना जस्तै शैक्षिक गुणस्तर सुधार्न आवश्यक रहेको भन्दै त्यसका लागि अभिभावकको सक्रियता जरुरी रहेको बताए । उनको गरिमामय उपस्थिति, प्रेरणादायी मन्तव्य र सक्रिय सहभागिताले कार्यक्रमलाई थप सफल र प्रभावकारी बनाएको थियो ।
उक्त कार्यक्रममा सहभागी शौर्य सिमेन्टका सिनियर भाइस प्रेसिडेन्ट राजन झाले सामाजिक उत्तरदायित्वलाई स्थानीय तहसँग सहकार्य गरेर अघि बढाइएको जनाउँदै भने, 'देशको समृद्धिका लागि आर्थिक र राजनीतिक क्षेत्र दुवै सबल हुनुपर्छ ।' उनले कम्पनीले निर्माण क्षेत्रमा हुने असर न्यूनीकरणका लागि इन्जिनियरको टोली खटाएर अध्ययन र समाधानको प्रयास गरिरहेको पनि बताए ।
त्यस अवसरमा वडाध्यक्ष तथा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक सुविन ढुंगानाले विद्यालय र सामुदायिक विकासमा सहयोग गरेकोमा धन्यवाद दिँदै खानी क्षेत्र नजिकको नदी उचाइ र सम्भावित जोखिमप्रति पनि शौर्यलाई सजग रहन आग्रह गरे ।
विद्यालयका प्रधानाध्यापक जयबहादुर तामाङले कम्पनीले २०५६ सालदेखि विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै विद्यालय परिवारको तर्फबाट सम्मान गरेका थिए । 'शिक्षक व्यवस्थापनदेखि भौतिक सामग्रीसम्ममा सहयोग पाएका छौं,' उनले भने ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर मगरले पनि उद्योगको निरन्तर सहयोगप्रति आभार प्रकट गरे । कार्यक्रममा उद्योगले विद्यार्थीहरूलाई खेल तथा शैक्षिक सामग्री वितरण गर्नुका साथै सहभागी अतिथिलाई मायाको चिनो प्रदान गरेको उद्योगका ब्रान्ड प्रबन्धक अनुज महतले जानकारी दिए ।
यसै दिन वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको प्राथमिक स्वास्थ्य केन्द्र भवन पनि हस्तान्तरण गरिएको हो । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले भवन हस्तान्तरणसँगै सेवा विस्तार सुरु हुने जानकारी दिए ।
कार्यक्रममा मेयर श्रेष्ठले स्वास्थ्य पहुँचका लागि यो भवन महत्वपूर्ण हुने बताए । वडाध्यक्ष नविन्द्र तामाङले वडाको भूगोल ठूलो भएकाले यस्तो केन्द्रले सेवा वितरणमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै, अब वडालाई एम्बुलेन्सको आवश्यकता रहेको समेत औंल्याए ।
शौर्य सिमेन्टद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो योगदानले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाहरूको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । नगरप्रमुख श्रेष्ठको समर्थनले यो योगदानलाई अझ प्रभावशाली र उदाहरणीय बनाएको थियो ।
शौर्य सिमेन्टले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा समुदाय हितका विविध सामाजिक कार्यहरूमा निरन्तर सहकार्य र योगदान गर्दै जाने दृढ प्रतिबद्धता व्यक्त गरेको छ, जसबाट समाजका थप व्यक्तिहरू लाभान्वित हुने विश्वास लिइएको छ ।