राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले गर्यो अनिश्चितकालीन जनआन्दोलनको घोषणा

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले अनिश्चिकालीन जनआन्दोलनको घोषणा गरेको छ । 

बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा समितिका संयोजक नवराज सुवेदीले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालिन जनआन्दोलन सुरु गर्ने बताएका हुन् । 

उनले आन्दोलन शान्तिपूर्ण हुने दावी गरे । भद्रअवज्ञा र सत्याग्रह आन्दोलनको स्वरूप हुने उनको भनाइ छ । 

सुवेदीले भने, ‘संविधान प्रदत्त अधिकार प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिका लागि सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं । हामी सबै दलहरु र समूहहरु संयुक्तरुपमा जनआन्दोलन समितिमा आवद्ध रही आन्दोलन सफल पार्छौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हुने छ ।’

उनले देश महाशक्ति राष्ट्रहरूको रणनीतिको प्रतिस्पर्धा बन्न लागेको भन्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता गुम्दै गएको जिकिर गरे ।

उनले भने, ‘नेपालको  राजनीतिमा वाह्य शक्तिहरुको दबाब र प्रभाव तीब्र रूपले बढिरहेको छ । नेपाल अन्तर्राष्ट्रिय महाशक्तिहरूको रणनैतिक प्रतिस्पर्धा बन्न सक्ने टड्कारो खतरा देखिँदै आएको छ । नेपाली जनताको सार्वभौम निर्णायकत्व संकुचित हुँदैछ । अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयतामा ठूलो ह्रास आएको छ ।’

उनले २०७२ मा जारी भएको धर्म निरपेक्ष गणतन्त्रात्मक संविधान पूर्ण रुपमा असफल भइसकेको जिकिरसमेत गरे ।
 

Share News