नेपाल–प्रवासी सम्बन्ध सुदृढ बनाउन ‘एनआरएनए कन्क्लेभ २०२५’ आयोजना हुँदै

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजना गरिने ‘एनआरएनए कन्क्लेभ २०२५’ आगामी बुधबार (मे १४) मा काठमाडौंमा हुने भएको छ । सो कन्क्लेभको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने पक्का भएको छ ।

'एनआरएनको अधिकार, समृद्धिको आधार' भन्ने नाराका साथ आयोजना हुने यो कन्क्लेभ गैरआवासीय नेपालीहरूको हक, अधिकार र नेपालसँगको सम्बन्ध सुदृढ गर्न उद्देश्यका साथ आयोजना गरिएको हो ।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई कन्क्लेभमा प्रमुख अतिथि बन्न औपचारिक निमन्त्रण दिएको थियो ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले एनआरएनएलाई सबै नेपालीको साझा र गैरराजनीतिक संस्था बनाइनु पर्नेमा जोड दिँदै संघले उठाउने उचित मागहरूप्रति सरकार सधैं सकारात्मक रहेको बताए ।

संघका अध्यक्ष केसीले कन्क्लेभको उद्देश्यबारे जानकारी दिँदै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपालमा लगानी प्रवर्द्धन, श्रम तथा आप्रवासन नीति, र पर्यटन प्रवर्द्धन लगायत विषयमा केन्द्रित कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए ।

भेटका अवसरमा अर्थमन्त्री विष्णु पौडेललाई पनि कन्क्लेभमा सहभागी हुन अनुरोध गरिएको थियो । कार्यक्रममा पूर्वअर्थमन्त्री युवराज खतिवडा, उपाध्यक्ष डा. विनोद श्रेष्ठ, रोशन थापा, रोजिना राई, उपमहासचिव सोम सापकोटा, सचिव टिका गुरुङ, कोषाध्यक्ष सुदन थापा, सह–कोषाध्यक्ष कृष्ण तिमल्सिना, पूर्व आइसीसी सदस्य भीमलाल भट्टराई, पत्रकार चिरन शर्मा, तथा संघका प्रमुख कार्यकारी निर्देशक राजेन्द्र कुमार राउत लगायतको उपस्थिति थियो ।

Share News