काठमाडौं । विश्व बैंक समूहको सदस्य संस्था अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले रत्निजा अरन्दारालाई नेपालका लागि आवासीय प्रतिनिधिको रूपमा नियुक्त गरेको छ । अब अरन्दाराले काठमाडौंमा रही आईएफसीको लगानी वृद्धि, नयाँ लगानी तथा सल्लाहकार अवसरहरूको विकास र संस्थाको देशभर प्रभाव विस्तार गर्ने प्रयासहरू नेतृत्व गर्नेछिन् ।
श्रीलंकाली नागरिक अरन्दारा २०११ देखि आईएफसीसँग आबद्ध छिन् र उनले विश्व बैंक समूहमा व्यापक अनुभव हासिल गरेकी छन् ।
यस नियुक्तिअघि उनले दक्षिण एसियामा आईएफसीको देशीय सल्लाहकार तथा आर्थिक टोलीमा महत्त्वपूर्ण भूमिका निभाएकी थिइन्, जहाँ उनले वित्तीय समावेशीकरण प्रवद्र्धन, कृषि व्यवसाय सुदृढीकरण र विभिन्न क्षेत्र तथा उद्योगहरूमा लगानी वातावरण सुधारमा ध्यान केन्द्रित गरेकी थिइन् ।
नेपालमा आफ्नो नयाँ भूमिकामा अरन्दाराले आईएफसीको व्यवसाय विकास पहलहरू अगाडि बढाउने, प्रारम्भिक चरणको संलग्नता विस्तार गर्ने र मुख्य सरोकारवालाहरूसँग साझेदारीलाई गहिरो बनाउँदै आईएफसीको लगानी तथा सल्लाहकार गतिविधिहरूलाई विकास प्रभाव वृद्धि गर्ने हेतुले व्यापक बनाउनेछिन् ।
विश्व बैंक समूहमा आबद्ध हुनुअघि अरन्दाराले इन्डोनेसियाको पीडब्ल्यूसी र स्विट्जरल्याण्डको ओराकल एजीमा काम गरेकी थिइन् ।
गत पाँच वर्षमा आईएफसीले करिब ७० करोड अमेरिकी डलर लगानी प्रतिबद्ध गरेको छ, जसमा स्वच्छ ऊर्जा, निजी इक्विटी, वित्तीय तथा आतिथ्य क्षेत्रहरूमा परिचालन प्रयासहरू समावेश छन् ।
यी लगानीहरूले साना तथा मझौला उद्यमलाई समर्थन, हरित ऊर्जा रूपान्तरण अगाडि बढाउन, र वित्तीय तथा लैङ्गिक समावेशीकरण प्रवद्र्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
आईएफसी विश्व बैंक समूहको सदस्य हो । यो विकासशील बजारमा निजी क्षेत्र केन्द्रित विश्वकै सबैभन्दा ठूलो विकास संस्था हो ।