भ्रष्टाचारीले विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको अख्तियार प्रमुखको आरोप

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले यस्तो आरोप लगाएका हुन् । 

भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पत्ति नेपाल फर्काउन दोस्रो पक्ष सहमत भएपनि सरकारले नचाहेको उनको भनाइ छ । 

उनले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पत्ति फिर्ता गर्न सांसदहरूलाई आग्रह समेत गरे । 

आयुक्त राईले भने, ‘मैले आफ्नो कार्यकाल सम्हालेपछि कुनै पनि राजनीतिक नेतृत्वबाट मुद्दा लैजानु र नलैजानु भनेर भनेको छैन । सुशासन कायम गर्नुपर्छ भनिरहकै अवस्था हो । ठूला माछाहरुलाई लगेन भन्ने कुरा ५÷१० वर्षदेखि चलिनै राखेको छ । तर कस्तालाई ठूला माछा र कस्तालाई साना माछा भन्ने ? हामीले अहिले पनि सिंगापुर, अमेरिका र युरोपमा भएको पैसा ल्याउनसक्ने अवस्था छैन । यसमा तपाईहरुले सहयोग गर्नुपर्यो । सिंगापुरले त भ्रष्टाचार भएको मनि पठाइदिन्छु भने पनि सरकारको तर्फबाट काम अगाडि बढेन । कार्यदल बनाएपनि काम भइरहेको छैन ।’

उनले भ्रष्टाचार अब देशभित्र मात्र सिमित नभई अन्तर्राष्ट्रियकरण भइसकेको उल्लेख गरे । उनले भ्रष्टाचारमा संलग्न हुने गैरआवासीय नागरिकहरुको संख्या उल्लेख्य मात्रामा रहेको दाबी गरे ।

Share News