भारतमा रहेको नेपालीहरुको समस्याबारे सांसद अर्यालले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले भारतस्थित नेपाली राजदुतावासले नेपालीहरूको दुःख र पीडामा बेवास्ता गरेको गुनासो भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले नेपालीहरू राजदूतावासमा कुनै सिफारिस लिन जाँदा चर्को शुल्क लिने गरेको गुनासो आएको बताए ।

उनले भारतमा सन्तान जन्माएका नेपालीहरूले नेपाल फर्किएपछि नेपाली नागरिक लिन खोज्दा सकस परेको समेत गुनासो आएको बताए ।

उनले भारतमा रहेका नेपाली उद्योगी तथा व्यवसायीहरूले नेपालमा लगानी गर्न खोज्दा सरकारले सहयोग नगरेको समेत जिकिर गरे । कार्यवाहक सभापति अर्यालले भारतमा रहेको नेपालीहरूको समस्या सम्बोधनमा सरकारले चासो देखाउनुपर्ने बताए ।

उनले भने, ‘भारतको विभिन्न राज्यमा थुप्रै नेपालीहरू बसोबास गर्दै आउनुभएको छ । भारतस्थित नेपाली राजदूतावासले भारतमा रहेका नेपालीहरूको दुःख र पीडामा मलहम लगाउनुको साटो कुनै सिफारिस लिन जाँदा थुप्रै पैसा खर्च हुने गरेको गुनासो आएकोले यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

अर्यालले भारतमा रहेका नेपालीहरूले नेपाल सरकारले तेस्रो दर्जाको व्यवहार गरेको गुनासो समेत आएको जिकिर गरे ।

Share News