अब चक्रपथ बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी वितरण, एडीबीको सहयोगमा वितरण सञ्जाल निर्माण हुने

काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौं उपत्यकाका चक्रपथ बाहिरका क्षेत्रहरूमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्ने भएको छ ।

नेपाल सरकारको बजेट र एसियाली विकास बैंकको सहयोगमा सुरु गर्न लागिएको काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौं, बुढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाहरूका मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको हो ।

आयोजनाको दोस्रो चरणमा भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभिन्न क्षेत्रमा गरी १५१.३० किमि, कीर्तिपुर, काठमाडौं र चन्द्रागिरि नगरपालिकाका विभिन्न क्षेत्रमा गरी ७५.९८ किमि, मध्यपुर थिमी नगरपालिका क्षेत्रमा ३०८.१५ किमि, कपन र जोरपाटी उत्तर क्षेत्रमा गरी २००.२३ किमि र जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्रमा १३९.७४ किमि गरी कूल ८७५.४ किमि खानेपानी वितरण सञ्जाल निर्माण गर्ने लक्ष्य रहेको छ । जसअन्तर्गत वितरण सञ्जालका ८२८.९२ कि.मि पीई पाइप र ४६.४८ किमि डीआई पाइप बिच्छ्याइनेछ । 

यी क्षेत्रमा खानेपानी वितरण सञ्जाल निर्माण कार्यलाई छिटोछरितो रूपमा अगाडि बढाउनका लागि भक्तपुर, कीर्तिपुर, थिमी, कपन र जोरपाटी उत्तर तथा जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्र गरी विभिन्न पाँच प्याकेजमा वर्गीकरण गरी खानेपानी वितरण सञ्जाल निर्माण गरिनेछ ।

आयोजनाको दोस्रो चरणमा निर्माण गरिने खानेपानी वितरण सञ्जालबाट ती क्षेत्रका करिव ६३ हजार घरधुरी लाभान्वित हुनेछन् । आयोजनाको दोस्रो चरणको निर्माण कार्य निर्माण सुरु भएको मितिले तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

सोहीअनुसार काठमाडौं उपत्यका खानेपानी सुधार आयोजन (दोस्रो चरण) को निर्माण कार्य अगाडि बढाउनका लागि पीआईडीले आवश्यक पूर्वतयारीका कार्य सम्पन्न गरी पाँचवटै प्याकेजको निर्माणका लागि बोलपत्र आह्वान गरेको छ ।

आयोजनाको दोस्रो चरणको निर्माण कार्य सम्पन्न भए पछिको एक वर्षसम्म खानेपानी वितरण सञ्जालको प्रणाली स्थिरीकरण र सञ्चालन सहितको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीको हुने प्रावधान राखिएको छ ।

यसअघि, काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (पहिलो चरण) अन्तर्गत काठमाडौं उपत्यकामा करिब ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका करिब ९८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कूल १ हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल निर्माण भइसकेको छ ।

यसैगरी, आयोजनाको पहिलो चरणमै काठमाडौं उपत्यकाका विभिन्न ९ स्थानमा १० वटा पानीपोखरी निर्माण र सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रबाट उपत्यकाका विभिन्न स्थानमा रहेका पानीपोखरीहरूमा थोकरूपमा पानी आपूर्ति गर्न थोक वितरण प्रणालीका ७७ कि.मि. पाइपलाइन बिच्छाउने कार्य समेत सम्पन्न भएको  छ । 

Share News