
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाउने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री महतले किसानहरुलाई सहुलियतपूर्ण कर्जा, उन्नत प्रविधि तथा तालिम, सिंचाई सुविधा, मल, बीउको उपलब्धता, सुनिश्चित गरी कृषि उपजको उत्पादकत्व वृद्धि गरिने समेत बताए । उनले प्राकृतिक र प्राङ्गारिक मलमा आधारित खेतीलाई प्रोत्साहन गरिने पनि बताएका छन् ।
‘रासायनिक मलको दिगो आपूर्ति व्यवस्था मिलाइनेछ । मुलुकमा नै रासायनिक मलको कारखाना खोल्ने प्रक्रियालाई अगाडि बढाइनेछ । प्राकृतिक र प्राङ्गारिक मलमा आधारित खेतीलाई प्रोत्साहन गरिनेछ । पहाडका टार र तपाई मधेशमा थप क्षेत्रमा सिंचाई सुविधा बिस्तार गर्न जोड दिइनेछ । सहुलियतपूर्ण कर्जा उन्नत प्रविधि, तथा तालिम, सिँचाई सुविधा, मल, बीउको उपलब्धता, सुनिश्चित गरी कृषि उपजको उत्पादकत्व वृद्धि गरिनेछ ।’ सभामा बोल्दै अर्थमन्त्री महतले भने ।
अर्थमन्त्री महतले पहाडका टार र तराई मधेशमा थप क्षेत्रमा सिंचाई सुविधा विस्तार गर्न जोड दिइने बताए ।