काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्दै उनले सो दाबी गरेका हु्न् । अर्थमन्त्री महतले लगानी अनुकूल वातावरण सृजना गर्न गरिएको प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद, पूँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको निरन्तर पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवं वित्त नीति र मौद्रिक नीति बीचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढ्न सफल भएको स्पष्ट पारे ।
उनले विद्युत उत्पादन र पर्यटक आगमन वृद्धि हुनुका साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको समेत उल्लेख गरे । वाह्य क्षेत्रतर्फ चालु खर्च सोधान्तर बचतको अवस्था र विदेशी विनिमयको पर्याप्त सञ्चितीले आर्थिक क्रियाकलापका लागि अनुकुल वातावरण सृजना गरेको बताए । राजश्व संकलन लक्ष्य अनुरुप नभए पनि वृद्धिदर करिव १० प्रतिशत रहेको र आउने दिनमा थप वृद्धि हुने अनुमान रहेको उनले जानकारी दिए ।
‘लगानी अनुकूल वातावरण सृजना गर्न गरिएको प्रक्रियागत सरलीकरण, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवं वित्त नीति र मौद्रिक नीति बीचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढेको छ । वाह्य क्षेत्रतर्फ चालु खर्च शोधान्तर वचतको अवस्था र विदेशी विनिमयको पर्याप्त सञ्चितीले आर्थिक क्रियाकलापका लागि अनुकुल वातावरण सृजना गरेको छ । राजश्व संकलन लक्ष्य अनुरुप नभए पनि वृद्धिदर करिव १० प्रतिशत रहेको र आउने दिनमा थप वृद्धि हुने अनुमान रहेको छ’, उनले भने ।
अर्थमन्त्री महतले बैकिङ क्षेत्रतर्फ पर्याप्त तरलता, ब्याजदर एकल बिन्दुतर्फ झर्ने क्रममा रहेको तथा निक्षेप र कर्जा प्रवाहमा क्रमशः वृद्धि भएको बताए ।