काठमाडाैं । सिन्धु विकास बैंक र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच कर्जा लगानी सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्व मोहन अधिकारी तथा सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अन्तर्गत सिन्धु विकास बैंकले आफ्नो कार्यक्षेत्रमा रहेका १८ वर्षदेखी ६० वर्ष उमेर समूहका बेरोजगार युवा युवतीहरुलाई लक्षित गर्दै उनीहरुको क्षमता तथा व्यापार व्यवसाय वृद्धि गर्न प्रतिव्यक्ति २ लाख तथा समुहगत प्रति समुह अधिकत ३० लाखसम्म सहुलियत पुर्ण कर्जा उपलब्ध गराउनेछ ।
युवा स्वरोजगार कार्यक्रम अन्तरगत कोषले बैंकलाई वार्षिक ४ प्रतिशतका दरले कर्जा प्रदान गर्नेछ भने बैंकले ईच्छुक बेरोजगार युवा युवतीहरुलाई वार्षिक ८ प्रतिशतका दरले ३ वर्ष ६ महिना अवधिको लागि कर्जा उपलब्ध गराउने छ ।
कोषले युवा स्वरोजगार कर्जा उपभोग गर्ने ऋणी तथा परियोजना दुवैको बैंक मार्फत बीमा समेत गरी दिने व्यवस्था रहेको छ । साथै कर्जाको सांवा तथा व्याज समयमै तिर्ने असल ऋणीहरुलाई तिरेको व्याजको ६० प्रतिशतसम्मको रकम कोषले अनुदान फिर्ता समेत गरिदिने जानकारी दिएकाे छ ।
बैंकले आफ्नो कार्यक्षेत्र भित्र रहेका सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्लाका २४ वटा शाखा कार्यालयहरु मार्फत उक्त कर्जा लक्षित वर्गमा प्रवाह गर्ने जनाएको छ ।