काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था(इप्पान) को आयोजनामा मंसिर ५ र ६ गते काठमाडौँमा उर्जा सम्मेलन २०१९ हुने भएको छ । इप्पानले आइतवार राजधानीमा पत्रकार सम्मेलन गरी उर्जा सम्मेलनबारे जानकारी दिएको हो ।
उर्जा सम्मेलनमा संघीय नेपालमा उर्जा विकास, अन्तरदेशीय व्यापार तथा प्रशारण पूर्वाधार, विद्युत क्षेत्रमा आवश्यक लगानी, विद्युतको बजार विस्तार, दिगो तथा सहभागितामूलक जलविद्युत विकास, विद्युत क्षेत्रको नियमन तथा राष्ट्रिय अन्तर्राष्टिय जगतमा भएका सफल र अनुकरणीय उपलब्धी लगायतका विषयमा छलफल हुने इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईँले बताए ।
पावरिङ द एसिया सेन्चुरी नाराका साथ हुने उक्त सातौँ उर्जा सम्मेलनमा ७५० जनाभन्दा बढीको सहभागिता रहने जनाइएको छ । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरु, सरकारी संघसंस्थाका उच्च अधिकारीहरु, निजी क्षेत्र र गैह्र सरकारी क्षेत्रका सरोकारवालाहरुको उपस्थितिमा हुने बहस, हासिल भएका सफलता र उपलब्धी तथा अनुभवहरुको आदानप्रदान हुनेछ ।