काठमाडौं । बजारका चर्चामा रहेको बुक बिल्डिङ तत्काल र सबै कम्पनीहरुका हकमा लागु नहुने भएको छ । नेपाल धितोपत्र बोर्डका अधिकारीहरुले यो प्रणाली कार्यान्वयनको प्रारम्भिक चरणमा मात्रै छलफल गरेको भन्दै यसका लागि समय लाग्नसक्ने जानकारी दिए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले प्रस्तावित वुक बिडिङ प्रणाली सबै कम्पनीको शेयरमा लागु नहुने स्पष्ठ पारेका छन् । नेपाल धितोपत्र बोर्डद्वारा नीति तथा कार्यक्रमका क्रममा उनले हाल प्रिमियममा जारी हुने शेयरका लागि मात्रै त्यस्तो प्रणाली लागु हुने स्पष्ठ पारेका छन् ।
‘अहिले चर्चामा आइरहेको बुक विल्डिङ प्रणालीबारे धेरैलाई भ्रम छ, अब सबै शेयरहरु १०० रुपैंयाभन्दा महँगो पर्ने भयो भन्ने, तर त्यसो होइन, प्रिमियममा शेयर जारी गर्न चाहने कम्पनीहरुका लागि मात्रै मूल्य निर्धारणमा यो विधि लागु हुने हो ।’ उनले बुक विल्डिङ प्रणालीका लागि प्रारम्भिक चरणको छलफल सम्पन्न भई बाह्य विज्ञहरुबाट विस्तृत छलफल गर्ने क्रममा रहेको समेत बताए ।
उनले बुक विल्डिङ प्रक्रियाअन्तर्गतको मूल्य निर्धारण प्रचलित अन्तर्राष्ट्रिय मापदण्डअनुसार हुने भन्दै यसको कार्यन्वयनपछि पनि लगानीकर्ताहरु महँगो शेयरमूल्यको मारमा नपर्ने बताए ।