
काठमाडौँ । आन्तरिक राजस्व कार्यालय बानेश्वरले ५४ करदातासँग बक्यौता कर उठाउन सक्रियता देखाएको छ ।
कार्यालय अन्तरगत रहेका ५४ करदाताले आयकर र मूल्य अभिबृद्धि कर बक्यौता दाखिला गरेको नदेखिएको जनाएको छ । १५ दिन भित्र बक्यौता कर रकम दाखिला गर्न र दाखिला भएको भए सो को प्रमाण आन्तरिक राजस्व कार्यालयमा पेश गर्न सूचना जारी गरिएको छ ।
कार्यालयले बानेश्वर, मीनभवन, बुद्धनगर, शंखमूल मार्ग, पुरानो बानेश्वर, शान्तिनगर, मितेरीमार्ग, महादेवस्थान, थापागाउँ, शान्तिविनायक मार्ग, सूर्यबिक्रम र देवकोटा मार्गका करदाता व्यवसायिक फर्म र व्यक्तिका नाममा ताकेता गरेको हो ।
कार्यालयको सूचनाको वेवास्ता गरे आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्मको कुनै वा सबै प्रक्रिया र मूअ कर ऐन २०५२ को दफा २१ बमोजिकको प्रक्रिया अवलम्बन गरी बक्यौता असुलउपर गरिने कार्यालयले जनाएको छ ।
कार्यालयको सूचनालाई वेवास्ता गरे ती करदाताको कारोबार रोक्का, बैंक खाता रोक्का र प्रोप्राइटर÷सञ्चालकको घरजग्गासमेत रोक्का गर्न सक्ने चेतावनी दिइएको छ । साथै कार्यालयले बक्यौता नतिर्ने अन्य करदाताको नामावली क्रमशः प्रकाशित गर्दै जाने जनाएको छ ।