काठमाडौं । धितोपत्र बजारमा कूल २४ अर्ब १९ करोड १३ लाख रुपैयाँ थपिँदै छ । बजारमा साधारण सेयर(आईपीओ), हकप्रद, ऋणपत्र र म्युचअल फण्ड मार्फत सो मात्राको रकम थपिने भएको हो । पाइपलाईनमा बाहेक कम्तिमा १५ अर्ब रुपैयाँ बराबरको बोनस सेयर र साधारण सेयर पनि २०७६ सालमा थपिने छ ।
हालसम्म ३१ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिई सो मात्राको रकम बजारमा ल्याउने प्रकृया अघि बढाएका हुन् । जसमा १३ कम्पनीले आईपीओ, ९ कम्पनीले हकप्रद, ४ कम्पनीले ऋणपत्र र ५ कम्पनीले म्युचअल फण्ड गरी कूल ३१ वटा कम्पनीको सो मात्राको रकम बजारमा आउने क्रममा रहेको हो ।

जसमध्ये सबैभन्दा बढी रकम ऋणपत्र मार्फत धितोपत्र बजारमा भित्रिने भएको छ । हालसम्मको डाटा हेर्दा विभिन्न चार वटा कम्पनीले ११ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न बोर्डसँग अनुमति मागेका छन् ।
त्यसपछि म्युचअल फण्ड मार्फत ५ अर्ब ८५ करोड रुपैयाँ बराबरको रकम बजारमा भित्रिने छ । ५ कम्पनीले प्रति इकाई १० रुपैयाको दरले सो मात्राको फण्ड जारी गर्न बोर्डमा आवेदन दिएका छन् ।
त्यस्तै, बजारमा भित्रिन लागेको कूल रकम मध्ये ४ अर्ब ८७ करोड ३२ लाख ६७ हजार रुपैयाँ हकप्रद मार्फत बजारमा आउने भएको छ । बोर्डको अनुमतिको पर्खाइमा रहेका ९ वटा कम्पनीले अनुमति पाएपश्चात ४ करोड ८७ लाख कित्ता हकप्रद सेयर बजारमा निष्काशन गर्ने छन् ।
त्यसैगरी, आईपीओ मार्फत कूल २ अर्ब ६ करोड ८० लाख ३६ हजार रुपैयाँ बजारमा भित्रिने छ । जुन माथि उल्लेखित धितोपत्र किसिमहरुको तुलनामा सबैभन्दा कम हो । बजारमा कूल १३ वटा कम्पनीले सो मात्रा अर्थात २ करोड ६ लाख ८० हजार कित्ता साधारण सेयर बजारमा बिक्री गर्ने तयारीमा छन् । जसमध्ये अधिकांश जलविद्युत कम्पनीहरु रहेका छन् भने अन्य वित्तीय संस्थाहरु रहेको छन् । सबैभन्दा बढी अपी पावरले २ अर्ब रुपैयाँ बढीको सेयर बिक्री गर्ने छ ।
नियामक निकाय बोर्डको अनुमतिको पर्खाइमा रहेका यी ३१ वटै कम्पनीले बोर्डको अनुमति पाए पश्चात बजारमा सो मात्राको रकम भित्र्याउने छन् ।
यी बाहेक अधिकांश बीमा कम्पनीहरुले गत वर्षको नाफाबाट बोनस सेयर वितरण गर्दैछन् । त्यस्तै, यसै आर्थिक वर्षभित्रमा १० वटा जीवन बीमा कम्पनीहरुको र केही उत्पादन मुलक कम्पनीहरुको साधारण सेयर आउँदैछ । १०७६ सालभित्र अतिरिक्त १५ अर्बभन्दा बढीको बोनस सेयर र साधारण सेयर थपिन सक्ने देखिएको छ ।