काठमाडौं । सर्वोच्च अदातलको फैसलासँगै ३० वर्षे सेवा अवधिका कारण बहिर्गमनको संघारमा पुगेका चार कार्यकारी निर्देशकलाई फर्काउन राष्ट्र बैंकले तयारी थालेको छ । ३० वर्षे सेवा अवधिका कारण अनिवार्य एक महिने विदामा बसेका चार जना कार्यकारी निर्देशकहरू यहि जेठ २६ गतेबाट अवकास पाउँदै थिए ।
विदामा बसेका कार्यकारीहरूको अवधि चार दिन वाँकी हुँदा सर्वोच्च अदालतले ५८ वर्षे सेवा अवधि लागू गर्न बाटो खुला गरिदिएको हो । अवकाशको ३० वर्षे सेवा अवधि तथा ५८ वर्ष उमेर हद जुन अगाडि हुन्छ सोही लागू गर्ने विवाद सर्वोच्च पुगेको थियो । अदालतले ५८ वर्ष उमेर हद लागू गर्ने बाटो खोलिदिएपछि राष्ट्र बैंकले बहिर्गमनको संघारमा पुगेका चार कार्यकारी निर्देशकलाई फर्काउने तयारी थालेको हो ।
‘फैसलाको पूर्णपाठ आउने बित्तिकै संचालक समिति बैठकमार्फत कार्यान्वयन गछौं, ’ राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले भने । अदालतबाट चिठ्ठी आएपछि कानुनी सल्लाह अनुसार बोर्ड बैठक बसेर निर्णय लिने उनले बताए । कहिलेको निर्णयलाई आधार मान्ने वा नयाँ निर्णय गरेर कार्यान्वयनमा लैजाने भन्ने विषयमा छिट्टै राष्ट्र बैंक बोर्ड बैठक बस्ने उनको भनाइ छ ।
राष्ट्र बैंक संचालक समितिको २०७४ असोज ८ गतेको बैठकले ३० वर्षे सेवा अवधिका आधारमा अनिवार्य अवकाश पाउने कानुनी व्यवस्था हटाएर उमेरहद र पदावधि विशेषको आधारमा मात्र अवकास पाउने गरी राष्ट्र बैक कर्मचारी सेवा विनियमावली–२०६८ मा संशोधन गरि पारित गरिसकेको अवस्था छ । सर्वोच्च अदालतले गत मंसिर १८ गते राष्ट्र बैंक नितान्त स्वायत्त अधिकार क्षेत्रभित्र पर्ने विषयवस्तु भएकोले विनियमावलीमा कर्मचारीको सेवा अवधि र उमेरको हद के कति राख्ने ? भन्ने विषय राष्ट्र बैंकले निर्णय गर्न सक्ने उल्लेख गरिएको छ ।
राष्ट्र बैंकले अहिले अवकाशको संघारमा पुगेका सक्षम कर्मचारीलाई पुनवहाल गर्न सके यसबाट कर्मचारी व्यवस्थापनदेखि नीति तथा योजना बनाउन सजह हुने सम्बद्ध क्षेत्रले बताएको छ । अहिले राष्ट्र बैंकले तल्लो तहका कर्मचारीलाई कार्यकारी निर्देशकको भार सुम्पिएर काम गरिरहेको अवस्था छ । यतिमात्र होइन ३० वर्षे कार्य अवधिको विवादपछि १२५ जना कर्मचारीले अवकास पाइसकेका छन् भने अबको ८/१० महिनाको अवधिमा अरु केहीले अवकाश पाउने अवस्था छ ।
चार दिनपछि अनिवार्य अवकाशमा जान लागेकाहरुको कति बढ्दै छ कार्यकाल ?
हाल विदामा बसेका कार्यकारी निर्देशकहरु नारायणप्रसाद पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्य राष्ट्र बैंक फर्कन सक्ने अवस्था आएको छ । सर्वोच्चको फैसला राष्ट्र बैंकले तुरुन्त कार्यान्वयनमा ल्याए कार्यकारी निर्देशक पौडेलको सेवा अवधि साढे १ वर्ष थपिने भएको छ । नरवहादुर थापा, भीष्मराज ढुङ्गाना, भरत शर्मा आचार्यको सेवाअवधि १-१ वर्ष थपिने छ । लघुवित्त सम्हालेका अर्को कार्यकारी निर्देशक जनकवहादुर अधिकार भने ५८ वर्ष उमेर हदका कारण अवकाशमा परेका हुन् ।