काठमाडौं । नेपाल वायु सेवा निगमबाट मदन खरेललाई हटाउने अभियान सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीको इच्छा अनुसार निगममा अध्यक्ष नियुक्त भएका खरेललाई हटाउन नेकपा भित्रै लबिङ सुरु भएको हो । नेकपामा प्रभावशाली नेताहरु नै खरेलकै कारण निगम थप ओरालो लाग्ने भन्दै उनको विकल्प खोज्ने समय आईसकेको निष्कर्षमा पुगेका हुन् ।
नेकपा स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझीले निगमका अध्यक्ष असक्षम भएकाले उनलाई हटाएर सक्षमलाई नियुक्त गर्नुपर्ने बताए । निगमका वर्तमान अध्यक्षले किन वाईडबडीलाई लामो दुरीमा उडान भर्ने वातावरण बनाउन नसकेको भन्दै रायमाझीले प्रश्न गरे । उनले भने,‘सरकारी संस्थानहरु किन कमजोर हुन्छन् ? यस विषयमा सरकारले अब सोच्नुपर्छ । प्राईभेटहरुले चलाउन सक्ने अनि सरकारीले किन नसक्ने ? यदि यस्तै अवस्था रहिरहे निगमको नेतृत्व नै असफल हुन्छ, अब नयाँ सक्षम नेतृत्वलाई ल्याउनुपर्छ । अहिलेको अध्यक्षले काम गर्न नसकेकाले तत्काल फेर्नुपर्छ ।’
रायमाझीले वाईडबडी सुविधा सम्पन्न जहाज भएकोले यसलाई लामो दुरीमा चलाउनुपर्ने पनि सुझाए । उनले भने,‘वाईडबडीलाई भारतको नयाँ दिल्ली, मुम्बई र कलकत्तामात्रै उडाएर हुँदैन, यदि त्यसो गरियो भने कुनै फाईदा हुँदैन् ।’ यद्यपी प्रधानमन्त्री केपी ओलीको इच्छा विपरिद उनलाई कसैले हटाउन सक्ने सम्भावना भने छैन् । हाल पर्यटन मन्त्रालयमा विभागिय मन्त्री पद रिक्त छ । सो मन्त्रालयमा माओवादी नेता रायमाझी आफै इच्छुक रहेका छन् । मन्त्रिपरिषद हेरफेर हुँदा उनी समेत मन्त्री बन्ने चर्चा चलिरहेको छ । यदि रायमाझीले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएको खण्डमा निगमबाट खरेलको बहिर्गनमा हुने देखिएको हो ।
कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले वाईडबडी मात्रै नभएर यो सरकारले देश नै डुबाउन लागेको गम्भिर आरोप लगाए । उनले भने,‘देशको वाईडबडी नै डुब्दैछ, सयमै यसबारेमा चेतना जाग्न जरुरी छ ।’