सरकारको निष्कर्षः ब्रोकर कमिसन धेरै भएकाले धितोपत्र बजार उँभो लागेन

<p>काठमाडौं । सरकारले ब्रोकर कमिसनका कारण सेयर बजारको वृद्धि विकासले गति लिन नसकेको निष्कर्ष निकालेको छ । पूँजी बजार विस्तारको समस्याका रुपमा सरकारले कारोबार लागत उच्च हुनु अर्थात उच्च दरको ब्रोकर कमिसनलाई प्रमुख कारण मानेको हो । उच्च दरको ब्रोकर कमिसनका अलवा बजारमा अनावश्यक उतार चढाव हुनुलाई पनि धितोपत्र बजार विकासको बाधक मानेको छ । [&hellip;]</p>

काठमाडौं । सरकारले ब्रोकर कमिसनका कारण सेयर बजारको वृद्धि विकासले गति लिन नसकेको निष्कर्ष निकालेको छ । पूँजी बजार विस्तारको समस्याका रुपमा सरकारले कारोबार लागत उच्च हुनु अर्थात उच्च दरको ब्रोकर कमिसनलाई प्रमुख कारण मानेको हो । उच्च दरको ब्रोकर कमिसनका अलवा बजारमा अनावश्यक उतार चढाव हुनुलाई पनि धितोपत्र बजार विकासको बाधक मानेको छ ।

राष्ट्रिय योजना आयोगले तयार पारेको १५ औं पञ्च बर्षिय योजनामा यी दुई कारणले नै नेपालको सेयर बजारको विकासमा उल्लेख्य प्रगति हुन नसकेको निष्कर्ष निकालिएको हो । त्यस बाहेक गैर आवासिय नेपालीहरुलाई धितोपत्र बजारमा आकर्षित नगरिनु, उत्पादन मुलक उद्योगहरु धितोपत्र बजारमा नआउनु, धितोपत्र व्यवसायीमा दक्षताको कमी हुनु, संस्थागत सुशासनको अवस्था कमजोर हुनु, धितोपत्र सम्बन्धी उपकरणमा विविधता नहुनु लगायतका कारणलाई उल्लेख गरिएको छ । पञ्च बर्षिय योजनाको आधार–पत्रलाई मन्त्रिपरिषद बैठकले पारित गरेर कार्यान्वयनमा ल्याईसकेको छ ।

धितोपत्र बजार विस्तारको पञ्च बर्षिय योजना
सरकारले आगामी पाँच बर्षपछि धितोपत्र बजारमा लगानी गर्ने नागरिकको संख्या २० प्रतिशत पुर्याउने लक्ष्य निर्धारण गरेको छ । हाल कुल जनसंख्याको ४.४ प्रतिशतले मात्रै धितोपत्र बजारमा लगानी गरिरहेको सरकारी तथ्यांक छ । सरकारले पाँच बर्षभित्र धितोपत्र कारोबारको लागतमा उल्लेख्य कमी ल्याउने, जोखिम न्यनीकरणका उपकरणहरु पर्याप्त मात्रामा ल्याउने, उत्पादन मुलक क्षेत्रको सहभागीतालाई व्यापक मात्रामा विस्तार गर्ने, धितोपत्र बजारमा गैर आवासिय नेपाली र अन्तराष्ट्रिय संस्थागत लगानीकर्ताहरुलाई प्रवेश गराउने योजना पनि बनाएको छ ।

कति छ ब्रोकर कमिसन ?
हाल ५० हजारसम्मको कारोबारमा ०.६ प्रतिशत वा न्युतमम २५ रुपैंयाँ ब्रोकर कमिसन तोकिएको छ । ५० हजार १ रुपैंयाँ देखि ५ लाखसम्मको कारोबारमा ०.५५ प्रतिशत तोकिएको छ ।  त्यस्तै, ५ लाख १ रुपैंयाँदेखि २० लाखसम्म ०.५ प्रतिशत र २० लाख १ रुपैंयाँदेखि १ करोडसम्मको कारोबारमा ०.४५ प्रतिशत ब्रोकर कमिसन कायम छ ।

एक करोड रुपैंयाँ भन्दा माथीको कारोबारमा भने ०.४ प्रतिशत ब्रोकर कमिसन लाग्छ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले ब्रोकर कमिसन घटाउनुपर्ने बताए । उनले नेपालको ब्रोकर कमिसन दर दक्षिण एसियामा उच्च रहेको पनि बताए । सेयर बजारमा अनलाइन प्रणाली लागु भएको, बैंकिङ प्रणाली समेत जोडिएको, राफसाफ प्रणाली समेत चुस्त दुरुस्त भएकाले पनि ब्रोकर कमिसन घटाउनुपर्ने बताए । सेयर बजारका जानकार दिलिप मुनाकर्मीले पनि ब्रोकर कमिसन घटाउने कुरा धितोपत्र बजारका लागि सकारात्मक भएको धारणा राखे ।

Share News