काठमाडौँ । लगानी बोर्डले डेढ खर्ब रुपैयाँभन्दा बढी लागत अनुमान गरिएका ३ परियोजना अध्ययन गर्ने अनुमति दिएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बसेको ३८औँ बोर्ड बैठकले तीनवटा कम्पनीले गरेको प्रस्तावअनुसार उक्त परियोजना अध्ययनको अनुमति दिएको बोर्डका सूचना अधिकारी राजु गुरागाईंले बताए ।
बोर्डले सिल्क रोड इन्टरनेसनल होल्डिङ कम्पनी लिमिटेडलाई लुम्बिनीमा वर्ल्ड बुद्धिस्ट एक्जिविसन पार्क परियोजनाको अध्ययन गर्न अनुमति दिएको छ । कम्पनीले उक्त परियोजना निर्माण गरी सञ्चालन गर्ने गरी बोर्डसमक्ष प्रस्ताव गरेको थियो । परियोजनाको लागत १ खर्ब रुपैयाँको हाराहारीमा हुने अनुमान गरिएको छ ।
त्यस्तै, फिलिपिन्सको ग्रिनर्जी सोलुसन्स इन्कर्पोरेटेडलाई सातवटै प्रदेशमा कुल ५ सय ५० मेगावाटको सौर्य ऊर्जा परियोजनाको सम्भाव्यता अध्ययन गर्ने अनुमति दिएको छ । यो परियोजनाको लागत ४८ अर्ब २४ करोड रुपैयाँ अनुमान गरिएको छ । बोर्डले फ्लास फ्रेट लजिस्टिक कम्पनीलाई वीरगन्ज र भैरहवामा प्राइभेट फ्रेट टर्मिनल एन्ड बल्क ह्यान्डलिङ फेसिलिटिज परियोजनाको सम्भाव्यता अध्ययन अनुमति दिएको छ । यो परियोजनाको लागत ६ अर्ब ५१ करोड रुपैयाँ अनुमान गरिएको छ ।
यीबाहेक लगानी बोर्डले आह्वान नगरेका ११ परियोजना निर्माणका लागि समेत प्रस्तावहरू परेका छन् । ती प्रस्तावहरूको अध्ययन निर्णयमा पुगिने बोर्डका सूचना अधिकारी गुरागाईंले बताए । बैठकले सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन २०७५ अन्तर्गत तर्जुमा गरिएको सार्वजनिक निजी साझेदारी नियमावली २०७६ को मस्यौदा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने निर्णयसमेत गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।