काठमाडौं । आगामी आर्थिक वर्ष २०७६/७७ मा द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूबाट संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय जम्मा ७६ लाख ६० हजार (६० हजार अमेरिकी डलर) रुपैयाँ परिचालन हुने भएको छ ।
सरकारले पर्यटन वर्ष मनाउँदै गर्दा द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदार तथा अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूबाट प्राप्त हुने सहयोगमध्ये सबैभन्दा थोरै रकम उक्त मन्त्रालयलाई प्रदान गर्ने तयारी गरेको हो । पर्यटन मन्त्रालयले सन् २०२० सम्म २० लाख पर्यटन भित्र्याउने तयारीमा छ ।
सरकारलाई विकास साझेदार तथा अन्तर्राष्ट्रिय गैरसरकरी संस्थाले विभिन्न परियोजना संचालन गर्न प्राविधिक तथा अन्य गरी एक खर्ब ८९ अर्ब ४० करोड नेपाली रुपैयाँ सहयोग गर्ने भएका छन् । सो सहयोगमध्ये आगामी आवमा ४४ अर्ब ६४ करोड १५ लाख प्राप्त हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ । विभिन्न परियोजना संंचालन गर्न नेपाललाई प्राप्त हुने कुल सहयोगमध्ये २४ अर्ब ७९ करोड २४ लाख रुपैयाँ अन्तर्राष्ट्रिय गैर–सरकारी संस्थाहरूमार्फत र १९ अर्ब ८४ करोड ९० लाख द्विपक्षीय तथा बहुपक्षीय विकास साझेदारबाट परिचालन हुनेछ ।
आगामी आवमा विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाबाट सबैभन्दा बढी सहयोग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त हुने भएको छ । मन्त्रालयलाई ६ अर्ब ७ करोड परिचालन हुनेछ । उक्त मन्त्रालयअन्तर्गतका कार्यक्रम लागि कुल २५ अर्ब ६१ करोड २७ लाख सहयोग परिचालन हुने अनुमान गरिएको छ । बेलायत, नर्वे, न्यूजील्याण्ड, अष्ट्रेलिया, अमेरिकालगायतका विकास साझेदारले उक्त कार्यका लागि प्राविधिक तथा अन्य सहयोग परिचालन गर्न लागेका हुन् ।
पपुलेशन सर्भिस इन्टर्नेशनलले ११ जिल्लामा महिला स्वास्थ सम्बन्धि कार्यक्रम संचालन गर्न दुई करोड २४ लाख ३९ हजार अमेरिकी डलर परिचालन गर्ने भएको छ भने आगामी आवको लागि ६ करोड ७३ लाख १६ हजार डलर परिचालन गर्ने सरकारी अनुमान रहेको अर्थ मन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए । वन हार्ट वल्र्ड वाइडले बाग्लुङ, डोल्पा, धादिङ, भोजपुर र सिन्धुपाल्चोक जिल्लामा महिला तथा नवजात शिशुको सुरक्षा संजालको अभिवृद्धि कार्यक्रम संचालन गर्न आगामी आवमा पाँच करोड ८८ लाख २० हजार अमेरिकी डलर परिचालन गर्ने भएको छ ।