
काठमाडौ । निर्जीवन बीमा व्यवसाय गर्दै बीमा कम्पनी(बीमक)को चुक्तापूँजी चैत्र मसान्तसम्म १२ अर्ब ६१ करोड ३८ लाख रुपैयाँ रहेको छ ।
बीमा समितिको तथ्याङ्क अनुसार बीमा कम्पनीहरुले १ खर्ब ३ अर्ब १ करोड २२ लाख रुपैयाँ लगानी गरेको देखिन्छ । यस्तै, नगद तथा बैंक मौज्दातमा ४ अर्ब ६० करोड ६४ लाख रुपैयाँ रहेको छ ।
कति उठ्यो बीमा शुल्क ?
चैत्र महिनाको अन्त्यसम्मको तथ्याङ्लाई हेर्दा निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब ६२ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । अग्नि बीमातर्फ ६ अर्ब १९ करोड २ लाख रुपैयाँ आर्जन भएको छ । मोटर बीमातर्फबाट ११ अर्ब ७० करोड १७ लाख रुपैयाँ आर्जन हुदा सामूद्रिक बीमा तर्फबाट १ अर्ब ४९ करोड २८ लाख रुपैयाँ आर्जन देखिन्छ ।
त्यसैगरी हवाई बीमामार्फत ८० करोड ९२ लाख रुपैयाँ आर्जन भएको छ भने इन्जिनियरिङ बीमा मार्फत २ अर्ब ५ करोड ८२ लाख रुपैयाँ आर्जन भएको छ । यस्तै, निर्जीवन बीमा अन्र्तगत विविध शीर्षकमा भने ३ अर्ब ३३ करोड ८ लाख रुपैयाँ आर्जन भएको छ । कृषि तथा बाली बीमामा १ अर्ब ४ करोड १६ लाख रुपैयाँ आर्जन भएको बीमा समितिको तथ्याङ्कमा उल्लेख छ ।
चैत्र मसान्तसम्ममा १ सय ६५ प्रकारका बीमा लेख प्रचलनमा आएका छन् । चैत्र मसान्तसम्म १६ लाख १४ हजार ६ सय ५८ वटा बीमा लेख कायम रहेको देखिन्छ । चैत्र मसान्तसम्म मात्र थप भएका बीमा लेखको संख्या भने २ लाख १८ हजार २ सय ९९ छ ।
३ हजार ७ सय अभिकर्ता
चैत्र महिनामा ५९ अभिकर्ता थपिएका छन् । कुल अभिकर्ताको संख्या अब ३ हजार ७ सय १४ पुगेको छ । बीमा बजार विस्तार हुँदै गएपनि सक्रिय अभिकर्ताको संख्या कम नै रहेको पाईन्छ । नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीहरुको संख्या ३९ वटा रहेको छ । सो मध्ये निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको संख्या २० वटा छ ।