
काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयमा सेवाग्राहीको सुविधाका लागि अनलाइन कारोबार शुरु भएको ५ महिना भएको छ । तर, अनलाइन कारोबारमा सेवाग्राहीको आकर्षण देखिएको छैन । यो अवधिमा कम्पनी रजिष्ट्रार कार्यालयले ७६ लाख ८० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
मंसिर कम्पनी रजिष्ट्रार कार्यालयले अनलाइन पेमेन्ट कारोबार शुरु गरेको थियो । ५ महिनाको अवधिमा कार्यालयमा ३ करोड ५ लाख १५ हजार ७२८ रुपैयाँ राजश्व संकलन भएकोमा ७६ लाख ८० हजार मात्रै अनलाइनमार्फत संकलन भएको हो ।
२०७५ मंसिरदेखी २०७६ जेठ २ गतेसम्म कम्पनी रजिष्ट्रार कार्यालयमा १८ हजार ७०२ वटा कम्पनीले राजश्व बुझाएकोमा अनलाइनमार्फत ४५० वटा कम्पनीले मात्रै भुक्तानी गरेका छन् । दुई वर्षदेखि कम्पनी दर्ताका लागि अनलाइन मार्फत आवेदन गर्ने व्यवस्था गर्दै आएको कम्पनी रजिष्ट्रारको कार्यालयले अनलाइनमार्फत ५ महिना अघि मात्र भुक्तानी सेवा समेत शुरु गरेको थिथो ।
सेवाग्राहीहरुले कार्यालयमा तिनुपर्ने सबै प्रकारका शुल्क तथा जरिवाना अनलाइन पेमेन्टमार्फत् तिर्ने व्यवस्था मिलाएको हो । कम्पनी रजिष्ट्रार कार्यालयका लेखा अधिकृत अजय बर्तौलाले कानून व्यवसायीहरु मार्फत आएका कामहरुमा उनीहरुले अनलाइनमार्फत भुक्तानी नगरेका कारणले पनि भुक्तानीमा कमि देखिएको बताए ।
उनले कम्पनीका सञ्चालक आउँदा मात्रै अनलाइनमार्फत भुक्तानी हुने र सबैले अनलाइन मार्फत भुक्तानी गर्न सकिन्छ भनेर नबुझेको कारणले पनि कमि आएको बताए ।
कम्पनीका सञ्चालक थौरै मात्र आउने र सबैलाई अनलाइनमार्फत भुक्तानी गर्न सकिन्छ भनेर पनि थाहा नभएको उनले बताए । सरकारले डिजिटल नेपाल निर्माणको कार्य अघि बढाइरहँदा कम्पनी रजिष्ट्रार कार्यालयमा अनलाइनमार्फत भुक्तानी गर्नेहरुको संख्या भने निकै कमि देखिएको छ ।