धौवादीको फलाम खानीमा एक अर्बको खेल, कसले लेख्दैछ ‘घर घरमा पाइपबाट ग्यास’ योजनाको दोश्रो अध्याय ?

<p>काठमाडौं । केपी ओली पहिलो कार्यकाल प्रधानमन्त्री बन्दा घर घरमा पाइपबाट खाना पकाउने ग्यास बाढ्ने भाषण गरे । त्यसको आधार थियो इमाडोल, टेकुसहित राजधानीका चार क्षेत्रमा रहेको प्राकृतिक मिथेन ग्यासको भण्डार । सिलिण्डरमा भर्न नमिल्ने मिथेन ग्यासलाई पाइपबाट घर घरमा वितरण गर्न सकिने र त्यो २५ बर्षका लागि पर्याप्त भएको रिपोर्ट तत्कालिन खानी विभागका अधिकारीहरुले [&hellip;]</p>

काठमाडौं । केपी ओली पहिलो कार्यकाल प्रधानमन्त्री बन्दा घर घरमा पाइपबाट खाना पकाउने ग्यास बाढ्ने भाषण गरे । त्यसको आधार थियो इमाडोल, टेकुसहित राजधानीका चार क्षेत्रमा रहेको प्राकृतिक मिथेन ग्यासको भण्डार । सिलिण्डरमा भर्न नमिल्ने मिथेन ग्यासलाई पाइपबाट घर घरमा वितरण गर्न सकिने र त्यो २५ बर्षका लागि पर्याप्त भएको रिपोर्ट तत्कालिन खानी विभागका अधिकारीहरुले ब्रिफिङ गरेका थिए । कर्मचारीको त्यहि ब्रिफिङका आधारमा ओलीले राजधानीका घर घरमा पाइपबाट ग्यास वितरण गर्ने घोषणा गरे । तर परिक्षण गर्दा एउटा नमिठो तथ्य उजागर भयो–‘१० रुपैंयाँ लागतको ग्यास निकाल्न करिब १५ रुपैंयाँ खर्च लाग्ने ।’

२५ वर्ष पुरानो प्रारम्भिक अध्ययन प्रतिवेदनका आधारमा अहिले निकालिएको निष्कर्षले त्यतिबेला प्रधानमन्त्रीलाई हचुवा भाषण गर्न उक्साएको थियो । यतिबेला ठिक त्यसैगरि धौवादीको फलाम खानीमा अर्काे इतिहास लेख्ने तयारी भैरहेको छ । २५ वर्ष पुरानो अध्ययन प्रतिवेदनका आधारमा धौवादीको फलाम खानीको व्यवसायीक उत्खननका लागि एक अर्ब रुपैंयाको सरकारी कम्पनी स्थापना सम्बन्धी प्रस्ताव अघि बढेको छ ।

खानी तथा भूगर्भ विभागले एक अर्ब चुक्ता पुँजी भएको सरकारी कम्पनी स्थापना सम्बन्धी प्रस्ताव उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय हुँदै अर्थमन्त्रालयमा पठाएको हो । ‘हामीले धौवादीको फलाम खानीको व्यवसायिक उत्खननका लागि कम्पनी खोलेर काम गर्ने सम्बन्धी प्रस्ताव तयार पारेर उद्योग मन्त्रालय मार्फत अर्थ मन्त्रालय पठाएका छौं’, खानी तथा भुगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटाले विकासन्युजसँग भने ।

उनले आगामी ३ महिनाभित्रै कम्पनी स्थापनाको प्रक्रिया अघि बढि सक्ने दावी पनि गरे । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा फलाम खानी उत्खनन् गर्ने बताएको छ । आगामी आर्थिक बर्षको बजेटले कम्पनी मोडलमा व्यवसायिक उत्खननको व्यवस्था गर्न पनि उनले दावी गरे । महानिर्देशक सापकोटाले नै प्रधानमन्त्री केपी ओलीलाई फलाम खानीको व्यवसायिक उत्खननका लागि तत्कालै कम्पनी खडा गर्न कन्भिन्स गरेको श्रोतले बतायो । ९  महिना मात्रै कार्यकाल बाँकी रहेका सापकोटाले अवकासपछि कम्पनीको नेतृत्व गर्ने योजनासहित फाइल अघि बढाएको आरोप छ । ‘उहाँ ९ महिनापछि अनिवार्य अवकासमा जाँदै हुनुहुन्छ, अवकासपछि जागिर सुरक्षित गर्न प्रधानमन्त्रीलाई कन्भिन्स गरेर कम्पनी खोल्ने काम अघि बढाएको आशंका छ’, उद्योग मन्त्रालय श्रोतले भन्यो ।

चिनियाँ कम्पनीले गरेको प्राबिधिक परिक्षणले धौवादीको फलाम उपयोग गर्न सकिने तथ्य उजागर गरेको छ । तर त्यसको व्यवसायिक सम्भाव्यताको भने अध्ययन भएको छैन । उत्पादन लागत र बजार मूल्यको प्रारम्भिक अध्ययन नै नगरि एक अर्बको कम्पनी खोलेर काम अघि बढाउने कुरा अपरिपक्कताको नमुना भएको आरोप छ ।

‘कति फलाम छ, उत्खनन गर्न, प्रशोधन गर्न कति खर्च लाग्छ, बेच्दा कति पैसा आउँछ भन्ने अध्ययनै नगरि कम्पनी खोलेर हुन्छ, पाइपबाट ग्यास बाढ्ने योजना जस्तै भयो भने के गर्ने ?’, उद्योग मन्त्रालयका एक उच्च अधिकारीले भने । उनले इमाडोलको मिथेन ग्यासमा जस्तै १० रुपैंयाँको फलाम उत्पादन गर्न १५ रुपैंया खर्च लाग्ने अवस्था आयो भने के गर्ने भनि प्रतिप्रश्न गर्नुपर्ने बताए ।

विज्ञहरुले भने पहिले व्यवसायिक सम्भावनाको लेखाजोखा गरेर मात्रै कम्पनी स्थापना गर्न उपयुक्त हुने सुझाव दिएका छन् । तर सरकारले भने व्यवसायिक सम्भाव्यता अध्ययन र कम्पनी स्थापनाको प्रक्रिया एकै पटक अघि बढाउने तयारी गरेको छ । व्यवसायिक सम्भाव्यताको अध्ययनले फलाम खानीको उत्खनन् गर्दा आर्थिक लाभ नहुने देखायो भने के हुन्छ भन्ने प्रश्न भने पेचिलो देखिन्छ ।

अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख तोयम रायाले पनि फलाम खानीको व्यवसायिक उत्खनन् गर्नका लागि एक अर्बको सरकारी कम्पनी खोल्ने प्रक्रिया अघि बढेको स्विकार गरेका छन् ।

Share News