काठमाडौं । समयमा किसानलाई भुक्तानी नदिएर अल्झाउँदै आएका चिनी उद्योगी र सरकारले यो वर्ष पनि अझै सात अर्ब रुपैयाँ दिएका छैनन् । उखु क्रसिङको सिजन सकिए पनि किसानले भुक्तानी पाएका छैनन् । नेपाल उखु उत्पादक महासंघका अनुसार किसानले यो वर्ष करिब १० अर्ब रुपैयाँको उखु उद्योगीलाई बेचेका छन् । महासंघका अध्यक्ष कपिलमुनि मैनालीले पौने ६ अर्ब रुपैयाँ उद्योगीबाट र अनुदानबापतको एक अर्ब ३२ करोड रुपैयाँ सरकारबाट पाउन बाँकी रहेको बताए ।
‘मोटामोटी सात अर्ब रुपैयाँ बक्यौता छ,’ अध्यक्ष मैनालीले भने, ‘चिनी बिक्री नभएको बहाना बनाएर उद्योगीले भुक्तानी दिएका छैनन्।’ प्रारम्भिक तथ्यांक सात अर्ब रुपैयाँ भए पनि अझै धेरै हुन सक्ने उनले बताए। मैनालीका अनुसार केही उद्योगले गत वर्ष उखु किनेको रकमसमेत तिरेका छैनन् ।
यो वर्ष दुई करोड क्विन्टल उखु क्रसिङ भएको छ। सरकारले तोकेको न्यूनतम मूल्य प्रतिक्लिन्टल पाँच सय ३६ रुपैयाँले उक्त उखुको मूल्य १० अर्ब ७२ करोड रुपैयाँ हुन्छ। धेरै उद्योगले सरकारले तोकेभन्दा कम दिएकाले करिब १० अर्ब रुपैयाँ हुने महासंघको अनुमान हो।
सरकारले किसानको रकम भुक्तानी गर्न पहल गर्ने बताउँदै आए पनि नपाएपछि भुक्तानी कहिले रु भनेर सरकारसँग प्रश्न गर्न थालेका छन्। सरकारी अधिकारी र उद्योगी गैरजिम्मेवार भएको किसानको आरोप छ। चिनी आयातमा रोक लगाउँदा उद्योगीले आफूलाई झुक्याएको प्रधानमन्त्री केपी ओलीले सार्वजनिक कार्यक्रममा बताएका थिए। प्रधानमन्त्रीलाई झुक्याएका चिनी उद्योगीले किसानलाई वर्षौंदेखि धोका दिँदै आए पनि कुनै कारबाही भएको छैन। आजको नागरिक दैनिकमा समाचार छ ।