आर्थिक वर्ष बैशाख १ गते बनाए के हुन्छ ? बाझियो विज्ञको धारणा

<p>काठमाडौं । आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटको तयारी अन्तिम चरणमा पुगेका बेला आर्थिक वर्ष परिवर्तनको बहस सुरु भएको छ । पूर्व अर्थ सचिव, सांसददेखि अर्थविदहरुले नै आर्थिक वर्ष आरम्भ हुने मिति बैशाख १ गते बनाउनुपर्ने धारणा अघि सारेका हुन् । ‘साउन १ गतेबाट आरम्भ हुने आर्थिक वर्षलाई सारेर बैशाख १ गते ल्याऔं, ४० प्रतिशत [&hellip;]</p>

काठमाडौं । आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटको तयारी अन्तिम चरणमा पुगेका बेला आर्थिक वर्ष परिवर्तनको बहस सुरु भएको छ । पूर्व अर्थ सचिव, सांसददेखि अर्थविदहरुले नै आर्थिक वर्ष आरम्भ हुने मिति बैशाख १ गते बनाउनुपर्ने धारणा अघि सारेका हुन् । ‘साउन १ गतेबाट आरम्भ हुने आर्थिक वर्षलाई सारेर बैशाख १ गते ल्याऔं, ४० प्रतिशत पुँजीगत खर्च वृद्धि हुन्छ’, पूर्व कानुन मन्त्री तथा सांसद शेरबहादुर तामाङले भने । उनले बैशाखमा आर्थिक वर्षको आरम्भ गर्दा बर्षात सम्पन्न हुँदा ठेक्का लागि सकेर विकास निर्माणका काम आरम्भ भैसक्ने दावी गरे । त्यति मात्रै नभएर उनले असारे विकासको क्रम पनि रोकिने दावी गरे । ‘बैशाखमा आर्थिक वर्ष ल्याउँदा बर्षापछि धमाधम काम गर्न पाइन्छ र असारे विकासको क्रम पनि अन्त्य हुन्छ’, सांसद तामाङले भने ।


सांसदले मात्रै होइन, पूर्व अर्थ सचिवले समेत आर्थिक वर्षलाई सारेर बैशाख १ गतेमा ल्याउनुपर्ने धारणा राख्दै आएका छन् । ‘अब आर्थिक वर्षलाई सारेर बैशाख १ गतेबाट आरम्भ गर्नुपर्छ, यसले विकासमा देखिएका धेरै अवरोध हटेर जान्छन’, हाल सूचना आयोगका आयुक्त समेत रहेका पूर्व सचिव बास्कोटाले भन्दै आएका छन् । उनले केहि समय अघि नेपाल व्यवस्थापन संघले राजधानीमा आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडालाई इतिहासमा बदल्ने हिम्मत गर्न सुझाव दिएका थिए । बास्कोटाले पहिलो बजेट ल्याउने श्रेय सुर्वण शमसेर, सामाजिक सुरक्षा कार्यक्रम ल्याएर भरतमोहन अधिकारी र लैंगिक मैत्री बजेट ल्याएर डा. रामशरण महतले इतिहासमा नाम लेखाएको बताउँदै डा. खतिवडाले आर्थिक वर्षलाई बैशाख १ गते सारेर इतिहास रच्नुपर्ने बताएका थिए ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. शिवराज अधिकारीले भने आर्थिक बर्ष सारेर बैशाखमा ल्याउनुले खासै अर्थ नराख्ने बताए । जेठ १५ गते बजेट ल्याएर साउन १ गतेदेखि कार्यान्वयन गर्दा समेत कुनै प्रभाव नदेखिएकाले बैशाखमा सार्दा परिवर्तन हुन्छ भन्न नसकिने उनको भनाई छ । ‘हाम्रो काम गर्ने शैली उस्तै छ, जेठ १५ गते बजेट आउँछ, साउन १ मा आर्थिक बर्ष आरम्भ हुन्छ । ४५ दिनमा पनि केहि तयारी गर्दैनौं, बजेट खर्च गर्न असार नै कुर्ने गरिएको छ, त्यसकारण बैशाखमा सार्नुको अर्थ छैन ।’, प्राध्यापक डा. अधिकारीले भने । उनले नेपालमा फागुन/चैत र बैशाखमा मात्रै काम गर्ने संस्कार भएकाले आर्थिक बर्ष सार्नुको अर्थ नरहेको बताएका हुन् ।

अर्का अर्थविद प्रा.डा. गोविन्द नेपालले पनि बैशाखमा आर्थिक वर्ष सार्नुको खासै अर्थ नहुने बताए । ‘हाम्रो समस्या आर्थिक वर्ष सुरु हुने समयको होइन, हाम्रो कार्यशैली र सोँचको हो, सोँच नबलिएसम्म समय बदलेर मात्रै केहि पनि हुन्न’, प्रा. डा. नेपालले भने । उनले विकासको मुल अवरोधबाट बिषयान्तर गर्न आर्थिक वर्षको समय सार्ने प्रस्ताव आएको हुन सक्ने बताए । नेपालमा हालसम्म साउन १ गतेबाट नयाँ आर्थिक बर्ष आरम्भ हुन्छ । नयाँ संबिधानमा जेठ १५ गते बजेट ल्याउनै पर्ने संबैधानिक व्यवस्था रहेको छ । यदि बैशाख १ गतेबाट आर्थिक वर्ष आरम्भ गर्ने हो भने संबिधान नै संसोधन गर्नुपर्ने अवस्था रहन्छ ।

Share News