सुनचाँदीका गरगहना बनाउने कालिगढलाई मासिक ४०-५० हजार कमाउन गाह्रो छैनः रमेश महर्जन

<p>लामो समयदेखि सुनचाँदीको व्यवसाय गर्दै आउनु भएका रमेश महर्जन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष हुनुहुन्छ । उहाँ सुनचाँदी व्यवसायीलाई माथि उकास्ने नीति राज्यले नबनाएको धारणा राख्नु हुन्छ । उहाँ अध्यक्ष रहेको महासंघले जेठ ३, ४ र ५ गते काठमाडौँमा  ‘नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना गर्न लागेको छ । नेपाली मैलिकता झल्किने [&hellip;]</p>

लामो समयदेखि सुनचाँदीको व्यवसाय गर्दै आउनु भएका रमेश महर्जन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष हुनुहुन्छ । उहाँ सुनचाँदी व्यवसायीलाई माथि उकास्ने नीति राज्यले नबनाएको धारणा राख्नु हुन्छ । उहाँ अध्यक्ष रहेको महासंघले जेठ ३, ४ र ५ गते काठमाडौँमा  ‘नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना गर्न लागेको छ । नेपाली मैलिकता झल्किने गरगहनालाई विश्व बजार प्रचार प्रसार गर्ने उद्देश्यले एक्स्पो गर्न लागिएको छ । नेपालमा सुनचाँदी व्यवसाय र एक्स्पोको बारेमा महासंघका अध्यक्ष महर्जनसँग विकासन्यूजका लागि राजाराम न्यौपानेले गर्नु भएको कुराकानी:

तपाईँहरुले नेपाल जेम एण्ड ज्वेलरी एक्स्पो गर्न लाग्नु भएको छ, एक्स्पो गर्नुको उद्देश्य के हो ?
हाम्रो महासंघको आयोजनामा जेठ ३, ४ र ५ गते नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड एक्स्पो सञ्चालन गर्न लागेका छौँ । यस्तै खालको एक्स्पो सन् २०११, २०१४ र २०१६ पनि गरेका थियौँ । एक्स्पोमा स्वदेशी र विदेशी गरी ७० वटा कम्पनीहरु सहभागी हुँदैछन् । यसपाली पहिलेको भन्दा भिन्न तरिकाले एक्स्पो चलाउने विचारमा छौँ । नेपाली मौलिकताको पहिचान दिने नेपाली गरगहनाको आन्तरिक बजार र विश्व बजारमा पहिचान दिलाउनु एक्स्पोको उद्देश्य हो । परम्परागत कला संस्कृति जोड्ने गरगहना यूरोपियन र अमेरिकन देशहरुमा देशमा बिरलै छन् । नेपालमा भने कला संस्कृतिको मिश्रण भएको गरगहना उत्पादन हुन्छ भनेर विश्व बजारलाई पनि देखाउनु पर्छ । घरेलु कच्चा पदार्थ प्रयोग गरी नेपाली मौलिक गरगहनालाई विश्व बजारमा चिनाउने हाम्रो उद्देश्य हो ।

बेलाबेला सुनको गुणस्तर र तौलबारे कुरा उठिरहन्छ, खास कुरा के हो ?
हामी राज्यलाई के भन्छौ भने हाम्रो छिमेकी मुलुकहरुले बेच्नु अगाडि हल सेन्टरमा राखिन्छ र व्यवसायीहरुले गुणस्तर जाँच गरेर यसको क्वालिटी यति छ भनेर बताइन्छ । कि त राज्यले त्यस्तो सेन्टर स्थापना गर्नु पर्यो । सरकारले नगर्ने हो भने प्राइभेट सेक्टरबाट गुणस्तरको किटानी गर्ने व्यवस्था गर्न दिनु पर्यो । सुनचाँदी व्यासायी बन्ने हो भने टेक्नोलोजीको व्यवस्था गर्नुपर्छ । व्यापारीले पनि गुणस्तरमा कम्प्रमाइज गर्नु हुन्न ।

सुन विलासी बस्तु हो, यसमा राज्यले अझै कर बढाउनु पर्छ भन्ने तर्क पनि सुनिन्छ, के भन्नुहुन्छ ?
करको क्षेत्र विकास गर्नु पर्यो, करको दर बढाएर मात्र हुँदैन भन्ने मेरो मान्यता छ । हाम्रो मौलिक गरगहनाले अर्बौँको मार्केट लिएको छ । विग भोलुम पनि हुने, मार्जिन पनि हुने गर्छ । तर, यही कुरालाई आधार बनाएर कर बढाउनु पर्छ भन्नु राम्रो होइन ।

सुनचाँदीका गरगहना बनाउने कालिगढका लागि मासिक ४०–५० हजार कमाउन गाह्रो छैन ।

सुनमा प्रयोग हुने पत्थर कति बाहिरबाट आउँछ र कति यही प्रशोधन हुन्छ ?
हामीले प्रशोधन केन्द्रको स्थापना र उत्पादन गर्न सकिरहेका छैनौँ । बजारमा प्रयोग भइरहेको पत्थर नेपालको एकदमै कम मात्रामा प्रयोग भएको छ । नेपाली पत्थर नक्कली रंग लगाएको , पोलेको पत्थर जस्ता छैनन् ।

पत्थरीजन्य पदार्थको जिम्मा खानी विभागले मात्र लिने हो ?
खानीबाट आउने सामानहरुको उत्खनन्, प्रशोधनको जिम्मेवारी खानी विभाग कै हो । यसको सम्पूर्ण जिम्मा राज्यको निकायले नै लिनु पर्छ ।

नेपाली मौलिकता झल्किने गरी गरगहना बनाउने दक्ष जनशक्ति के कति मात्रामा छन् ?
नेपाली मौलिकता झल्किने गरगहना बनाउने दक्ष जनशक्ति कति छ भनेर यकिन गर्न नसकिए पनि पर्याप्त जनशक्ति भने छैन । यहाँ कलाको कुनै मूल्य छैन । जो क्रियटर छ उसलाई हौसला दिए पो यो क्षेत्रमा आकर्षण बढ्छ । त्यस्तो गर्न सकिएको छैन । परम्परादेखि चलिआएको कला र कालीगढलाई विश्व बजारमा चिनाउनु पर्छ, कलालाई महत्व दिइनु पर्छ । अनिमात्र युरोप, अमेरिकाको टप ज्वेलर्ससँग हाम्रा कालिगढहरुले प्रतिष्पर्धा गर्न सक्छन् ।

पुस्ता हस्तान्तरण र दक्ष जनशक्ति उत्पादनका के गर्नुपर्ला ?
एउटा राम्रो कालीगढ बन्यो भने उसको फेमिली जेनेरेसन बन्छ । एकजना मात्र बन्दैन उसले आफ्नो सीप ट्रान्सफर गर्छ । यसले जेम्स कटिङ, मौलिक गरगहनाको रिजल्ट ओरेन्टेड हुने गरी लेबल अनुसार पारिश्रमिक दिनुपर्छ । अनि मात्रै रोजगारीको संख्यामा वृद्धि हुन्छ । यो सेक्टरलाई विकसित गरी दोस्रो पुस्तामा हस्तान्तरण गर्न सकिन्छ । यहाँ सिर्जनाको मूल्य रहेन । तराईतिरको थारु जातिले लगाउने गहना जुन त्यति आकर्षक छैन । नेवारको हेर्नुस् पास्नी, गुफा, विवाह जस्ता हरेक पर्वमा लगाउने गहनाको अर्थ छ । मौलिक गरगहनाले मानव सभ्यताको अर्थ बोकेको हुनुपर्छ । परम्परागतसँगै नयाँ पुस्ताको मागअनुसार डिजाइन ल्याउन सकेमा बजार विस्तार हुन्छ । खानीविभाग मात्र नभई सबै सेक्टरबाट यसको विकासका लागि पहल हुनुपर्छ । सुनचाँदीका गरगहना बनाउने कालिगढका लागि मासिक ४०–५० हजार कमाउन गाह्रो छैन । हाम्रा दाजुभाइ घरखेत बन्धकी राखेर ३०-४० हजारका लागि विदेश जान्छन् । राज्यले आफ्नो देशमै रोजगारीको सिर्जना गरोस् भन्ने मेरो आग्रह छ ।

विश्व बजारमा नेपाली गरगहनाको माग कति छ ?
बाहिरबाट सुन ५० हजारमा ल्याउने र यहा ज्याला जर्ती भनेर जोड्नुपर्ने हुन्छ । सुनै ५७ हजार ५०० छ । सबै जोड्दा धेरै हुन्छ । विदेशमा नेपालबाट गएका गहनाको शोरुम नभएको ठाउँ छैन । यसरी राज्यले डलर पाउने, रोजगारी पाउने, नेपालीको पहिचान हुने र हाम्रा पहिचान बचाउन राज्यले ध्यान दिनु पर्छ ।

नेवारको हेर्नुस् पास्नी, गुफा, विवाह जस्ता हरेक पर्वमा लगाउने गहनाको अर्थ छ । मौलिक गरगहनाले मानव सभ्यताको अर्थ बोकेको हुनुपर्छ ।

सुन व्यवसायलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो छ ?
राज्यले सुनचाँदी व्यवसायलाई फस्टाउने कुनै नीति बनाएको छैन । नेपाली मौलिक गरगहनाहरुलाई विश्वव्यापी गराउन राज्यले सपोर्ट गर्नु पर्छ । गरगहनाको निर्यात बढाउन सके व्यापार घाटालाई कम गर्न पनि मद्दत गर्छ ।

राष्ट्र बैंकले नेपालमा सुनचाँदीको कोटा तोकेको छ । यसले के केही समस्या आएको छ ?
व्यवसायीहरुलाई राष्ट्र बैंकले तोके अनुसार मात्रै दैनिक रुपमा सुन प्राप्त हुन्छ । तर १० वर्ष अघि जति कोटा तोकिएको थियो अहिलेसम्म बढ्न सकेको छैन । त्यसकारण नेपाली बजारमा बेलाबेलामा सुनको अभाव हुने गरेको छ । सुनचाँदी व्यवसाय विश्व बजारमा इन्डष्ट्रिको रुपमा विकसित भइसकेको छ । राष्ट्र बैंकसँग बारम्बार एउटा त डिष्ट्रिब्युट सिस्टम सहज रुपमा हुनु पर्यो भनेर हामीले माग गरिरहेका छौँ । सुनचाँदीलाई बजारमा माग भएजति दिनु पर्छ, परिणात्मक बन्देज लगाउनु हुन्न । कोटा सिस्टमले अबैध रुपमा कारोबार गर्नेले प्रश्रय पाउँछन् । सुनचाँदी व्यवसायको क्षेत्रलाई राज्यले बुझेको छैन । हाम्रो मौलिक गरगहना भनेको विश्वलाई नै आकर्षण गर्ने किसिमको छ । राष्ट्र बैंकले डिष्ट्रिब्युट सिस्टमलाई सेन्ट्रलाइज गर्नुभएन । सबै एउटै सिस्टमबाट जानुपर्यो ।

Share News